• Menu

थरिन्दुको अलराउण्ड प्रदर्शनमा सुदूरपश्चिम लगातार तेस्रो पटक एनपीएल फाइनलमा

नेपाल प्रफिट

२०८३ मंसिर ३, बिहीबार २१:१३

थरिन्दुको अलराउण्ड प्रदर्शनमा सुदूरपश्चिम लगातार तेस्रो पटक एनपीएल फाइनलमा

काठमाडौं । श्रीलंकाली खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउण्ड प्रदर्शनको मद्दतमा सुदूरपश्चिम रोएल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ। बिहीबार सम्पन्न दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई २ विकेटले हराउँदै सुदूरपश्चिमले लगातार तेस्रो संस्करणमा फाइनल यात्रा तय गरेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवनले प्रस्तुत गरेको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो।

सुदूरपश्चिमको जितमा थरिन्दु रत्नायके नायक बने। उनले ४२ बलमा ७ चौकासहित अविजित ५३ रन बनाए। बलिङतर्फ पनि प्रभावशाली प्रदर्शन गरेका उनले दुई विकेट लिए। टोलीलाई जित दिलाउने चौका समेत थरिन्दुले नै प्रहार गरेका थिए।

लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले सुरुवातमै विकेट गुमाएको थियो। आक्रामक ब्याटिङ गरेका विनोद भण्डारीले १३ बलमा २३ रन जोड्दै टोलीलाई राम्रो सुरुवात दिलाए। उनले एक चौका र दुई छक्का प्रहार गरे। अर्का ओपनर जर्ज मन्से भने ८ रनमा आउट भए।

त्यसपछि स्कट कुगेलेइन २ र इशान पाण्डे १० रनमा पवेलियन फर्किएपछि सुदूरपश्चिम ४५ रनमा चार विकेट गुमाएर दबाबमा परेको थियो।

संकटको अवस्थामा थरिन्दुले जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै कप्तान दीपेन्द्र सिंह ऐरीसँग पाँचौं विकेटका लागि ३१ रनको साझेदारी गरे। त्यसपछि आरिफ शेखसँग छैटौं विकेटका लागि २६ रन जोड्दै जितको आधार तयार पारे। दीपेन्द्रले १५ र आरिफले १० रन बनाए।

चितवनका लागि रन्जित कुमारले सर्वाधिक दुई विकेट लिए। कमल सिंह ऐरी, रिजन ढकाल, उसामा मिर र सलाउद्दिन खानले एक–एक विकेट हात पारे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो। चितवनका लागि डाविड मलानले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ७१ रनको योगदान दिए।

वान डाउनमा आएका मलानले ५१ बलको सामना गर्दै ९ चौका र दुई छक्का प्रहार गरे। उनले अन्तिमसम्म क्रिजमा टिकेर टोलीको स्कोर सम्मानजनक अवस्थामा पुर्‍याएका थिए।

मलानले सलाउद्दिन खानसँग सातौं विकेटका लागि ४० रनको साझेदारी गरे। खानले १६ बलमा एक छक्कासहित १८ रन बनाए भने कमल सिंह ऐरीले आठ बलमा १० रन जोडे।

चितवनका अन्य ब्याटरले भने उल्लेखनीय योगदान दिन सकेनन्। कमिल मिशारा ४, देव खनाल ६, रवि बोपारा र कुशल मल्ल समान १, विवेक यादव ३ तथा उसामा मिर २ रनमा आउट भए। रिजन ढकाल ४ रनमा अविजित रहे।

बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइनले तीन विकेट लिए। थरिन्दु रत्नायकेले दुई तथा हेमन्त धामी, दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेले समान एक विकेट लिए।

यसअघि पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिमले दोस्रो क्वालिफायरमार्फत फाइनल पुग्ने अर्को अवसर सदुपयोग गरेको हो।

अब उपाधिका लागि सुदूरपश्चिमले आगामी शनिबार लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ।