काठमाडौं । प्रहरीले काठमाडौं र मोरङबाट जुवातास तथा कौडा खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-१४ कलङ्कीबाट बुधबार बिहान जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङ घर भई काठमाडौंको कलङ्की बस्ने ४० वर्षीय अर्जुन ढुंगानासमेत रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट नगद ६१ हजार ३१० रुपैयाँ र पाँच बुक तास बरामद गरेको छ।
त्यसैगरी, मोरङको बेलबारी नगरपालिका-११ नलबारीस्थित बाँसघारीमा जुवा (कौडा) खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कानेपोखरी गाउँपालिका-२ बस्ने ५१ वर्षीय खमानसिङ लिम्बुसमेत रहेका छन्।
इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बुधबार साँझ पक्राउ गरेको हो। प्रहरीले घटनास्थलबाट नगद ४५ हजार ८२५ रुपैयाँ र ११ थान कौडा बरामद गरेको जनाएको छ।
दुवै घटनामा पक्राउ परेका १२ जनामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।