काठमाडौं । कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलोपटक रजत र कास्य पदक विजेता खेलाडीलाई समेत नगद पुरस्कार प्रदान गरिने भएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारीसहित नयाँ पुरस्कार नीति सार्वजनिक गरेको हो।
राखेपका अनुसार व्यक्तिगत विधातर्फ स्वर्ण पदक विजेताले २० हजार, रजत विजेताले १५ हजार र कास्य विजेताले आठ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। त्यस्तै, टिम इभेन्टतर्फ स्वर्ण पदक विजेताले १५ हजार, रजत विजेताले १० हजार र कास्य विजेताले आठ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
यसअघि राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेतालाई मात्र नगद पुरस्कार दिने व्यवस्था रहेकामा दशौँ संस्करणदेखि रजत र कास्य पदक विजेतालाई पनि पुरस्कारको दायरामा समेटिएको हो।
प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कास्य गरी कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ। दशौँ राष्ट्रिय खेलकुद मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुनेछ। केही खेल भने औपचारिक उद्घाटनअघि नै मंसिर ८ गतेदेखि सुरु हुनेछन्।
राखेपका सदस्यसचिव रामचरित्र मेहताका अनुसार प्रतियोगिताको उद्घाटन र समापन समारोह सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा आयोजना हुनेछ।
प्रतियोगितामा सात प्रदेशसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ) र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीको सहभागिता रहनेछ। कुल ३२ खेलका ३८४ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ।
प्रत्येक टोलीबाट ६६० जना सहभागी हुनेछन्। तीमध्ये ३१४ महिला र ३४६ पुरुष खेलाडी रहनेछन्। त्यस्तै, प्रत्येक टोलीबाट ८१ प्रशिक्षक र ४१ व्यवस्थापक सहभागी हुनेछन्।
प्रतियोगिताका लागि कुल एक हजार ३० जना निर्णायक परिचालन गरिने राखेपले जनाएको छ। तीमध्ये २५८ जना अन्तर्राष्ट्रिय र ७७२ जना राष्ट्रिय निर्णायक रहनेछन्। यसका अतिरिक्त खेल संघका ९६ प्रतिनिधिको पनि सहभागिता रहनेछ।
प्रतियोगिताका खेल सुर्खेतसहित सात जिल्लामा सञ्चालन हुनेछन्। सुर्खेतमा २३, नेपालगन्जमा दुई, बर्दियामा दुई, दैलेखमा एक, कालीकोटमा एक, सल्यानमा दुई र पश्चिम रुकुममा एक खेल आयोजना गरिने राखेपले जनाएको छ।
नयाँ पुरस्कार व्यवस्थाले स्वर्णसँगै रजत र कास्य पदक जित्ने खेलाडीलाई समेत आर्थिक प्रोत्साहन प्रदान गर्ने अपेक्षा गरिएको छ।