काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बनसहित सम्पूर्ण प्रशासनिक तथा आर्थिक प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ।
राखेपको कार्यकारी समितिले बिहीबार एन्फामाथि लगाइएका सबै प्रतिबन्ध हटाउने निर्णय गरेको हो। निर्णय कार्यान्वयनमा आएसँगै एन्फामाथि लगाइएका प्रशासनिक तथा आर्थिक रोकावटसमेत हटेका छन्।
राखेपका सदस्यसचिव रामचरित्र मेहताले एन्फालाई पत्र पठाउँदै प्रतिबन्ध फुकुवाको औपचारिक जानकारी गराएका छन् ।
एन्फाले गत अप्रिल ५ मा पठाएको पत्रमार्फत गरेको अनुरोध तथा राखेपले यसअघि विभिन्न समयमा गरेका पत्राचारलाई आधार बनाएर निलम्बन र प्रतिबन्ध हटाउने निर्णय गरिएको पत्रमा उल्लेख छ।
राखेपले पठाएको पत्रमा भनिएको छ, ‘राष्ट्रिय खेलकुद परिषद्को निर्णयअनुसार एन्फामाथि लगाइएका निलम्बन तथा प्रतिबन्धहरू फुकुवा गरिएको जानकारी गराइन्छ। यससँगै एन्फामाथि लगाइएका सबै प्रशासनिक तथा आर्थिक प्रतिबन्ध पनि हटाइएको छ।’
राखेपले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा (३) लाई आधार बनाएर प्रतिबन्ध फुकुवाको निर्णय गरेको जनाएको छ।
प्रतिबन्ध फुकुवासँगै एन्फालाई लगाइएका प्रशासनिक तथा आर्थिक अवरोध हटेका छन्।