लगातार घट्दै सेयर बजार, बैंकिङबाहेक सबै उपसूचक राताम्मे
काठमाडौं । सेयर बजारमा बुधबार पनि गिरावट आएको छ । नेप्से परिसूचक ११.०५ अंकले घटेर २ हजार ६२५ विन्दुमा झरेको हो । मंगलबार पनि बजार १२.७९ अंकले घटेको थियो ।
आज ७० कम्पनीको सेयर मूल्य बढ्दा १९९ कम्पनीको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ । कारोबार रकम पनि घटेर ४ अर्ब १५ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो दिन ४ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको थियो ।
समूहगत सूचकतर्फ बैंकिङ ०.०५ प्रतिशतले बढेको छ भने अन्य सबै समूह घटेका छन् । व्यापार समूह सबैभन्दा धेरै २.४९ प्रतिशतले ओरालो लागेको छ ।
आज लिबर्टी इनर्जीको सेयर मूल्य सर्वाधिक ३.०७ प्रतिशतले बढेको छ । उपकार लघुवित्त २.९२, श्रीनगर एग्रिटेक २.७५ र बेनी हाइड्रो २.३२ प्रतिशतले बढेका छन् ।
यता एभरेस्ट कलरको मूल्य सबैभन्दा धेरै ८.६३ प्रतिशतले घटेको छ । सयपत्री हाइड्रोपावर ६.६५, भिजन लुम्बिनी ऊर्जा ५.४९, सिर्जनशील लघुवित्त ४.५८ र चिरख्वा हाइड्रोपावर ४.३८ प्रतिशतले घटेका छन् ।