• Menu

द्रुतमार्गले मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन ल्याउँछ : राष्ट्रपति

नेपाल प्रफिट

२०८३ मंसिर २, बुधबार १४:५६

द्रुतमार्गले मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन ल्याउँछ : राष्ट्रपति

मकवानपुर । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाले आफ्नो संवैधानिक दायित्व र राष्ट्रिय सुरक्षासम्बन्धी जिम्मेवारीसँगै मुलुकको सडक पूर्वाधार तथा विकास निर्माणका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताएका छन् ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित ३ हजार ३९९ मिटर लामो महादेवटार सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रममा सम्बोधन गर्दै उनले राष्ट्रिय गौरवका आयोजना तथा विशेष प्रकृतिका सुरुङ र पुल निर्माणमा सेना अहोरात्र खटिएको उल्लेख गरे ।

राष्ट्रपति पौडेलले विकट भौगोलिक अवस्था, जटिल भू-बनोट तथा प्रतिकूल परिस्थितिका बाबजुद राष्ट्रिय महत्त्वका सडक तथा पूर्वाधार निर्माणमा सेनाले प्रदर्शन गर्दै आएको व्यावसायिक दक्षता, कार्यकुशलता र राष्ट्रप्रतिको समर्पण प्रशंसनीय एवं अनुकरणीय रहेको बताए ।

उनले काठमाडौं उपत्यकालाई तराई-मधेससँग प्रत्यक्ष रूपमा जोड्ने करिब ७१ किलोमिटर लामो अत्याधुनिक प्रविधिमा आधारित द्रुतमार्ग निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे ।

द्रुतमार्ग सञ्चालनमा आएपछि यात्रा समय र दूरी उल्लेखनीय रूपमा घट्ने, इन्धन खपत कम हुने तथा सवारीसाधनको सञ्चालन र मर्मतसम्भार खर्चमा समेत बचत हुने उनको भनाइ थियो ।

राष्ट्रपति पौडेलले राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै देशको आर्थिक तथा सामाजिक रूपान्तरणमा भूमिका खेल्ने उक्त आयोजना समयमै सम्पन्न गर्न नेपाल सरकार र नेपाली सेना दृढ रहेको आफूले पाएको बताए ।

उनले द्रुतमार्गको महत्त्व भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित नरहेको उल्लेख गर्दै राजधानी काठमाडौं र तराई-मधेसबीचको भौगोलिक दूरी घटाउनुका साथै सामाजिक सद्भाव, आपसी सहिष्णुता र राष्ट्रिय एकता सुदृढ बनाउन पनि यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी पर्यटन प्रवर्धन, व्यापार तथा पारवहन सहजीकरण, क्षेत्रीय आर्थिक गतिविधिको विस्तार र दिगो विकासका लक्ष्य प्राप्तिमा आयोजनाको योगदान दूरगामी हुने राष्ट्रपति पौडेलले बताए ।

आयोजना निर्माणमा कुनै कसर बाँकी नराखी प्रभावकारी समन्वय र जिम्मेवारीपूर्ण प्रतिबद्धताका साथ काम गर्न सेनालाई सबै पक्षबाट सहयोग प्राप्त हुने विश्वाससमेत उनले व्यक्त गरे ।

कार्यक्रममा बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ, दक्षिण कोरियाका राजदूत पार्क जे क्यूङ तथा प्रधानसेनापति अशोकराज सिग्देललगायतको उपस्थिति रहेको थियो । रासस