बाँके । चाडपर्व मनाउन भारतबाट घर फर्किएका बाबु-छोराको सडक दुर्घटनामा एकैसाथ मृत्यु भएपछि बाँकेको राप्ती सोनारी गाउँपालिका-५ स्थित चिलहरिया गाउँ शोकमा डुबेको छ।
बर्दियाको गुलरियामा आफन्त भेट्न जाने क्रममा ३४ वर्षीय हुकुमबहादुर खत्री र उहाँका ६६ वर्षीय बुवा दलबहादुर खत्रीको सडक दुर्घटनामा मृत्यु भएको हो।
गुलरिया नगरपालिका-११ लालपुरमा गुलरियाबाट नेपालगन्ज आउँदै गरेको बा ५ ख ५६०५ नम्बरको मिनीफोर्स गाडी र नेपालगन्जबाट गुलरियातर्फ जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो। मोटरसाइकलमा सवार बाबु-छोरा दुवैको ज्यान गएको हो।
भारतमा रोजगारी गर्दै आएका उनीहरू तिहार मनाउन नेपाल फर्किएका थिए। चाडपर्वका बेला छोरी भेट्न बर्दियाको गुलरिया जाने क्रममा उनीहरू दुर्घटनामा परेका थिए।
घटनापछि बाबु-छोराको एकसाथ मृत्यु हुँदा चिलहरिया गाउँ शोकमग्न भएको स्थानीय जुद्ध पुनले बताए।
दुर्घटनापछि आफन्त तथा स्थानीयवासीले दोषीलाई कारबाहीको माग गर्दै नेपालगन्ज-राजापुर सडक अवरुद्ध गरेका थिए। तर, सवारीधनी सम्पर्कमा नआएपछि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेर फर्किएको राप्ती सोनारी गाउँपालिका-५ का वडाध्यक्ष झगरु थारुले जानकारी दिP ।
दुर्घटनामा मृत्यु भएको तीन दिनसम्म पनि समस्या समाधान नभएपछि मुद्दा दर्ता गर्ने सहमतिमा आफन्तले बाबु-छोराको शव बुझेका थिए।
मृतक दुवैको आज स्थानीय अगैयाघाटमा दाहसंस्कार गरिएको वडाध्यक्ष थारुले बताए ।
स्थानीय अगुवा तारा ओलीले चाडपर्व मनाउन परदेशबाट घर फर्किएका बाबु-छोरालाई सडक दुर्घटनामा गुमाउनुपर्दा बिनौनावासी स्तब्ध भएको बताए ।
उनका अनुसार यस घटनाले खत्री परिवारको सहारा खोसिएको छ भने सिङ्गो गाउँलाई गहिरो शोकमा डुबाएको छ।