• Menu

अर्घाखाँचीमा पहिलोपटक देखियो नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’

नेपाल प्रफिट

२०८३ मंसिर १, मंगलबार १३:१९

अर्घाखाँचीमा पहिलोपटक देखियो नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’

अर्घाखाँची । नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’ अर्घाखाँचीको शितगङ्गा नगरपालिका-स्थित ठाडादह क्षेत्रमा पहिलोपटक अभिलेख गरिएको छ। जिल्लाको दक्षिणी क्षेत्रमा यो प्रजाति देखिनु जैविक विविधताको अध्ययन तथा अभिलेखीकरणका दृष्टिले महत्वपूर्ण उपलब्धि मानिएको छ।

डिभिजन वन कार्यालय अर्घाखाँचीका अनुसार यसअघि जिल्लाको दक्षिणी क्षेत्रमा काँडे भ्याकुर देखिएको अभिलेख थिएन। ठाडादहमा यसको उपस्थिति पुष्टि भएपछि जिल्लाको वन तथा प्राकृतिक बासस्थानमा पाइने चराको विविधताबारे नयाँ जानकारी प्राप्त भएको छ।

कार्यालयका सूचना अधिकारी केसर खड्काले नेपालबाहेक विश्वका अन्य कुनै पनि देशमा प्राकृतिक रूपमा नपाइने यो चरा ठाडादहमा देखिनु जिल्लाका लागि महत्वपूर्ण उपलब्धि भएको बताए ।

अङ्ग्रेजीमा ‘स्पाइनी ब्याब्लर’ नामले चिनिने काँडे भ्याकुरको वैज्ञानिक नाम ‘एकान्थोप्टिला निपालेन्सिस’ हो। यो चरा नेपालको मौलिक जैविक सम्पदाका रूपमा परिचित छ।

काँडे भ्याकुर सामान्यतया घना झाडी, वनका झाडीदार क्षेत्र तथा प्राकृतिक वनस्पतिले ढाकिएका स्थानमा बस्ने लजालु स्वभावको चरा हो । झाडीभित्र लुकेर बस्ने भएकाले यसलाई सहजै देख्न कठिन हुन्छ। त्यसैले नयाँ क्षेत्रमा यसको उपस्थिति अभिलेख हुनु पक्षी अध्ययन तथा जैविक विविधताको पहिचानका दृष्टिले महत्वपूर्ण मानिने सूचना अधिकारी खड्काले बताए ।

प्राकृतिक सुन्दरता र जैविक विविधताका दृष्टिले महत्वपूर्ण ठाडादह क्षेत्रमा काँडे भ्याकुर देखिनुले यस क्षेत्रको पर्यावरणीय महत्वसमेत उजागर गरेको छ। यहाँका वन तथा प्राकृतिक बासस्थानमा अन्य प्रजातिका चरासमेत हुन सक्ने सम्भावना रहेको छ।

सूचना अधिकारी खड्काले काँडे भ्याकुरजस्ता दुर्लभ चराको संरक्षणका लागि प्राकृतिक बासस्थान जोगाउनुपर्नेमा जोड दिए । वन विनाश, झाडी तथा प्राकृतिक वनस्पतिको क्षयीकरण र मानवीय गतिविधिले यस्ता चराको बासस्थानमा असर पार्न सक्ने भएकाले संरक्षणमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।

ठाडादहमा काँडे भ्याकुरको उपस्थिति अभिलेख हुनुले अर्घाखाँचीको जैविक विविधताको पहिचानसँगै पक्षी अवलोकन, अनुसन्धान तथा पर्यापर्यटनको सम्भावनासमेत उजागर गरेको छ। रासस