एजेन्सी। अमेरिकी सिनेटमा डेमोक्रेटिक दलको नेतृत्व परिवर्तनको माग चर्किरहेका बेला सिनेटर क्रिस भ्यान होलेनले बहुमत नेताको पदका लागि वर्तमान नेता चक शुमरलाई चुनौती दिने घोषणा गरेका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई पराजित गर्दै डेमोक्रेटहरूले कङ्ग्रेसका दुवै सदनको नियन्त्रण पुनः प्राप्त गरेको केही दिनमै भ्यान होलेनको घोषणाले पार्टीभित्र नेतृत्वको प्रतिस्पर्धा थप चर्काएको छ।
६७ वर्षीय भ्यान होलेनले बिहीबार सामाजिक सञ्जाल एक्समार्फत श्रमिकविरुद्ध धाँधली भइरहेको र राजनीतिक भ्रष्टाचारले अर्थतन्त्र प्रभावित भएको उल्लेख गर्दै अमेरिकी जनताले त्यसविरुद्ध हस्तक्षेप गर्न आफूहरूलाई जनादेश दिएको बताएका छन्।
त्यसका लागि नयाँ नेतृत्व आवश्यक रहेको भन्दै उनले सिनेट बहुमत नेताको पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
७५ वर्षीय शुमरले नोभेम्बर ३ को निर्वाचनपछि सिनेटमा आफ्नो दलको नियन्त्रण पुनर्स्थापित भए पनि नेतृत्वबाट हट्नुपर्ने दबाब सामना गर्दै आएका छन्। यद्यपि, उनलाई औपचारिक रूपमा चुनौती दिने भ्यान होलेन पहिलो सिनेटर बनेका छन्।
भ्यान होलेनलाई डेमोक्रेटिक दलका केही प्रगतिशील नेताहरूको समर्थन प्राप्त भएको छ। डेमोक्रेटसँग सहकार्य गर्दै आएका वामपन्थी स्वतन्त्र सिनेटर बर्नी स्यान्डर्सले यसै साता शुमरलाई नेतृत्वमा निरन्तरता दिन आफूले समर्थन नगर्ने बताएका थिए।
त्यस्तै, मिशिगनका नवनिर्वाचित सिनेटर अब्दुल एल-सायेदले पनि सामाजिक सञ्जाल एक्समार्फत भ्यान होलेनलाई समर्थन गरेका छन्।
उता, शुमरले भने पार्टीको भविष्यबारे हुने छलफललाई स्वागत गरेका छन्। यद्यपि, डेमोक्रेटिक नेताका रूपमा निरन्तरता पाउन आफूलाई आवश्यक मत रहेको उनको दाबी छ।
नयाँ डेमोक्रेटिक बहुमतको नेतृत्व गर्दै अमेरिकी जनताका लागि काम गर्न आफू तयार रहेको शुमरले सामाजिक सञ्जाल एक्समार्फत बताएका छन्।
भ्यान होलेनको उम्मेदवारीसँगै अमेरिकी सिनेटमा डेमोक्रेटिक दलको आगामी नेतृत्व कसले गर्ने भन्ने विषय पार्टीभित्र थप चासो र प्रतिस्पर्धाको विषय बनेको छ। रासस