काठमाडौं । सेयर बजारमा बिहीबार गिरावट आएको छ। नेप्से परिसूचक करिब १३ अंकले ओरालो लागेर २ हजार ६५२ अंकमा झरेको छ ।
बजार खुलेको सुरुवाती दुई मिनेटमा सामान्य वृद्धि देखिए पनि त्यसपछि भने नेप्से निरन्तर दबाबमा रह्यो। बुधबार कारोबार दिन १.४० अंकले बढेको बजार बिहीबार पुनः घटेको हो ।
बजार घटेसँगै कारोबार रकम पनि खुम्चिएको छ। बुधबार ७ अर्ब ४३ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बिहीबार ४ अर्ब ७२ करोड रुपैयाँमा सीमित भएको छ। यस दिन ५६ कम्पनीको सेयर मूल्य उकालो लाग्दा २११ कम्पनीको मूल्य घटेको छ भने १२ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन।
समूहगत रूपमा हेर्दा माइक्रोफाइनान्सबाहेक सबै उपसूचक राताम्मे भएका छन्। लघुवित्त समूह भने ०.०९ प्रतिशतले बढेको छ। अन्य समूहमा एक प्रतिशतभन्दा कमको गिरावट देखिएको छ।
बैंकिङ समूह ०.५७ प्रतिशत, विकास बैंक ०.७० प्रतिशत, वित्त ०.५० प्रतिशत, होटल तथा पर्यटन ०.४२ प्रतिशत र जलविद्युत समूह ०.६७ प्रतिशतले घटेका छन्। त्यस्तै लगानी ०.२९ प्रतिशत, जीवन बिमा ०.४६ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.६२ प्रतिशत, निर्जीवन बिमा ०.३९ प्रतिशत, अन्य ०.४८ प्रतिशत र व्यापार समूह ०.१४ प्रतिशतले ओरालो लागेका छन्।
बिहीबार स्नो रिभर्सको सेयर मूल्य सबैभन्दा बढी २.८७ प्रतिशतले बढेको छ। एसियन हाइड्रोपावर २.७० प्रतिशत, मेरो माइक्रोफाइनान्स २.४२ प्रतिशत, भगवती हाइड्रोपावर २.३८ प्रतिशत र आँखुखोला जलविद्युत २.३७ प्रतिशतले उकालो लागेका छन्।
घट्ने कम्पनीतर्फ चिरख्वा हाइड्रोपावर सबैभन्दा अगाडि रहेको छ। यसको सेयर मूल्य ४.६१ प्रतिशतले घटेको छ। हिमालयन रिइन्स्योरेन्स ३.७५ प्रतिशत तथा उन्नति सहकार्य लघुवित्त र भुजुङ हाइड्रोपावरको मूल्य समान ३.६५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रह्यो। नेपाल पुनर्बीमा, घलेम्दी हाइड्रोपावर, अपी पावर, एनआईसी एसिया बैंक, छिमेक लघुवित्त र राधि विद्युत् पनि सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा परेका छन्।