• Menu

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसमा रमाडा बाइ विन्धाम इटहरीद्वारा समावेशिता र सञ्चारसम्बन्धी कार्यक्रम सम्पन्न

नेपाल प्रफिट

२०८३ असोज ८, बिहीबार १७:०२

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसमा रमाडा बाइ विन्धाम इटहरीद्वारा समावेशिता र सञ्चारसम्बन्धी कार्यक्रम सम्पन्न

सुनसरी । अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा रमाडा बाइ विन्धाम इटहरीले टिमका सदस्यहरूलाई एकै ठाउँमा भेला गराएर समावेशिता, सहकार्य र सञ्चारको महत्त्वबारे कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा होटलका खाद्य तथा पेय पदार्थ विभागका क्याप्टेन संगीत सापकोटासहित विभिन्न विभागका कर्मचारी सहभागी भएका थिए । भान्सा, सरसफाइ तथा खाद्य तथा पेय पदार्थ विभागका कर्मचारीले कार्यक्रममा सहभागिता जनाएका थिए ।

कार्यक्रममा बोल्ने शब्द मात्र नभई संकेत, बुझाइ, समर्पण र मानवीय सम्बन्धबाट पनि प्रभावकारी सञ्चार सम्भव हुने सन्देश दिइएको थियो । होटलले विभिन्न विभागबीचको सहकार्य र आपसी सम्मानले समावेशी कार्य वातावरण निर्माणमा सहयोग पुग्ने जनाएको छ ।

होटलका अनुसार सांकेतिक भाषाले बोल्ने शब्दको सीमाभन्दा बाहिर रहेर मानिसबीच समझदारी र आत्मीयता कायम गर्न सहयोग गर्छ । दैनिक काममा सहकर्मी तथा पाहुनाप्रति गरिने व्यवहार, ध्यान र सम्मानलाई समेत अर्थपूर्ण सञ्चारका रूपमा लिइएको छ ।

कार्यक्रमले होटल क्षेत्रमा विविधता, सहकार्य र एकअर्कालाई साथ दिने संस्कृतिको महत्त्वलाई उजागर गरेको होटलले जनाएको छ । होटलले हरेक व्यक्तिको भूमिका र आवाजलाई महत्त्व दिँदै समावेशी तथा अपनत्वपूर्ण कार्यस्थल निर्माण गर्ने प्रतिबद्धता जनाएको छ ।

रमाडा बाइ विन्धाम इटहरी पूर्वी नेपालमा रहेको अन्तर्राष्ट्रिय ब्रान्डेड पाँचतारे होटल हो । होटलले आवास, खानपान, बैठक तथा विभिन्न कार्यक्रमसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।