• Menu

रसुवाको बाढीले अटोमोबाइल क्षेत्रमा पुर्‍याएको क्षतिबारे नाडा प्रतिनिधिमण्डलद्वारा भन्सार विभागसँग छलफल

नेपाल प्रफिट

२०८३ असोज ७, बुधबार १७:५१

रसुवाको बाढीले अटोमोबाइल क्षेत्रमा पुर्‍याएको क्षतिबारे नाडा प्रतिनिधिमण्डलद्वारा भन्सार विभागसँग छलफल

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले हालैको बाढीका कारण अटोमोबाइल क्षेत्रमा परेको क्षतिका विषयमा भन्सार विभागसँग छलफल गरेको छ।

असोज ७ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले भन्सार विभागका महानिर्देशक भूपाल भुषालसँग भेट गरी रसुवामा गएको विनाशकारी बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल गरेको हो।

छलफलका क्रममा अध्यक्ष उप्रेतीले असोज १० गते रसुवा र टिमुरेलगायत विभिन्न क्षेत्रमा आएको बाढीका कारण दसैंको सिजनलाई लक्षित गरी चीनबाट आयात गरिएका सयौं सवारीसाधनमध्ये ठूलो संख्यामा रसुवा नाकाबाट बाढीले बगाएको जानकारी गराए। उनले बाढीपीडित व्यवसायी तथा प्रभावित पक्षलाई सरकारले उपलब्ध गराउनुपर्ने राहत तथा सहुलियत तत्काल कार्यान्वयन गर्न आग्रह गरे।

त्यस्तै, नाडाका महासचिव मिलनबाबु मल्लले चीनको सीमा भन्सार नखुलेका कारण चिनियाँ सीमाक्षेत्रमा पाँच सयभन्दा बढी सवारीसाधन रोकिएको जानकारी दिँदै त्यसको सहज व्यवस्थापनका लागि पहल गर्न आग्रह गरे। उनले हालसम्म ११ वटा विद्युतीय मोटरसाइकल छुट्न नसकेको जानकारी दिँदै त्यसका लागि समेत सहजीकरण गर्न अनुरोध गरे।

छलफलमा भन्सार विभागका महानिर्देशक भुषालले बाढीबाट प्रभावित व्यवसायीलाई सरकारले उपलब्ध गराउने सुविधा तथा सहुलियतका विषयमा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयबीच आवश्यक गृहकार्य भइरहेको जानकारी दिए।

भेटमा नाडाका उपाध्यक्षद्वय अभिक ज्योति र विक्रम सिंघानिया तथा सचिव मेघराज पौडेललगायतको उपस्थिति थियो।