काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री बालेन्द्र शाहले देशमा हुनसक्ने भारी वर्षालाई ध्यानमा राख्दै नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश दिँदै प्रधानमन्त्री शाहले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको जानकारी दिएका छन्।
मौसम विज्ञान विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा एक-दुई स्थानमा अति भारी वर्षा हुनसक्ने सम्भावना छ। कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
प्रधानमन्त्री शाहले पोखरा आसपास, लुम्बिनीका पहाडी तथा तराई क्षेत्र, ताप्लेजुङलगायत हिमाली भूभाग, बागमतीका पहाडी क्षेत्र, जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा बाढी, पहिरो, डुबान र सडक अवरोधको जोखिम रहेको उल्लेख गरेका छन्।
भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा डुबानसँगै सडक र हवाई यातायातमा समेत असर पर्नसक्ने भएकाले आवश्यक सावधानी अपनाउन उनले आग्रह गरेका छन्।
उनले पानी परिरहेको समयमा र रातको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न तथा नदी, खोला र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सतर्कता अपनाउन अनुरोध गरेका छन्।
त्यस्तै ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाएकालाई मौसममा सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न प्रधानमन्त्री शाहले आग्रह गरेका छन्।
मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचना नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न पनि उनले अनुरोध गरेका छन्।
सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायलाई आवश्यक तयारी, समन्वय र पूर्वसतर्कता अपनाउन आग्रह गर्दै प्रधानमन्त्री शाहले नागरिकलाई सुरक्षित र सचेत रहन अनुरोध गरेका छन्।