• Menu

प्रतिनिधिसभाबाट ‘संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ सर्वसम्मतिले स्वीकृत

नेपाल प्रफिट

२०८३ असोज ७, बुधबार १६:५३

प्रतिनिधिसभाबाट ‘संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ सर्वसम्मतिले स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाले ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ स्वीकृत गरेको छ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले प्रस्तुत गरेको राष्ट्रियसभामा उत्पत्ति भएको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो।

प्रस्तावमाथिको छलफलमा सांसदहरूले पशुमा फैलिने संक्रामक रोगको समयमै रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी कानुनी व्यवस्था आवश्यक रहेको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले ग्रामीण अर्थतन्त्रको मुख्य आधार कृषि र पशुधन रहेकाले संक्रामक पशु रोग फैलिनुअघि नै रोकथाम गर्नुपर्ने बताए।

नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेशकुमार मल्लले विधेयमाले पशुपालक किसानले भोग्दै आएका समस्या समाधान गर्नुपर्नेमा जोड दिए।

रास्वपाकी सांसद समिना मियाँले पशु स्वास्थ्यलाई मानव स्वास्थ्य र वातावरणीय स्वच्छतासँग जोडेर संक्रामक  रोग नियन्त्रण गर्नुपर्ने धारणा राखिन्।

त्यस्तै सांसदहरू शोभा खनाल, गङ्गालक्ष्मी अवाल, माधवबहादुर थापा, मोहनलाल आचार्य, समीक्षा बास्कोटा, पुष्पाकुमारी चौधरी, गणेशबहादुर विश्वकर्मा, डा. ओजस्वी शेरचन, तारा विश्वकर्मा, गङ्गादेवी श्रेष्ठ, पार्वती विक, नीनुकुमारी कर्ण, भरतप्रसाद पराजुली, हरिमोहन भण्डारी, राजन गौतम र हरिप्रसाद भुसालले पनि सङ्क्रामक पशु रोग नियन्त्रणका लागि विधेयक आवश्यक रहेको बताए।

प्रतिनिधिसभाको अर्को बैठक बिहीबार असोज ८ गते बिहान ११ बजे बस्नेछ।