काठमाडौं । बजाजले दसैं–तिहारजस्ता चाडपर्वलाई लक्षित गर्दै मोटरसाइकलको नियमित तथा पूर्वसावधानीपूर्ण मर्मतसम्भारलाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय निःशुल्क चेकअप क्याम्प सञ्चालन गर्ने भएको छ ।
कम्पनीका अनुसार असोज ४ गतेदेखि असोज ९ गतेसम्म सञ्चालन हुने क्याम्पअन्तर्गत नेपालभर रहेका बजाजका कुनै पनि आधिकारिक सर्भिस सेन्टरमा पुगेर बजाज मोटरसाइकलको निःशुल्क व्यावसायिक चेकअप गराउन सकिनेछ ।
चाडपर्वका समयमा यात्रुको संख्या तथा यात्रा दूरी बढ्ने भएकाले यात्राअघि मोटरसाइकलको अवस्था जाँच गरी सम्भावित मर्मतसम्भारका आवश्यकता समयमै पहिचान गर्न ग्राहकलाई प्रोत्साहित गरिएको कम्पनीले जनाएको छ ।
निःशुल्क चेकअपका क्रममा थप मर्मतसम्भार वा पार्टपुर्जा फेर्नुपर्ने अवस्था देखिएमा ग्राहकले विभिन्न सेवामा विशेष छुटसमेत पाउनेछन्। क्याम्प अवधिभर लेबर चार्जमा ५० प्रतिशत, इन्जिन आयलमा १६ प्रतिशत, स्पेयर पार्ट्समा १० प्रतिशत र युरोग्रिप टायरमा १० प्रतिशत छुट उपलब्ध हुनेछ ।
कम्पनीका अनुसार नियमित निरीक्षण तथा समयमै गरिने मर्मतसम्भारले सम्भावित समस्या ठूलो समस्या बन्नुअघि नै पहिचान गर्न सहयोग पुर्याउँछ । त्यसैले चाडपर्वको यात्रामा निस्कनुअघि मोटरसाइकलको अवस्था जाँच गराउन बजाजले ग्राहकलाई आग्रह गरेको छ ।
यस क्याम्पका लागि ग्राहकले छुट्टै कार्यक्रमस्थल वा तोकिएको क्याम्पमा जानुपर्ने छैन। नेपालभर रहेका कुनै पनि बजाज सर्भिस सेन्टरमा असोज ४ देखि ९ गतेसम्म पुगेर निःशुल्क चेकअप सेवा लिन सकिने कम्पनीले जनाएको छ ।