• Menu

भोटेकोशी विनाशकारी बाढी : मृतक संख्या १,३४१ पुग्यो, ४,०४४ अझै बेपत्ता

नेपाल प्रफिट

२०८३ भदौ २१, आइतबार ११:१५

भोटेकोशी विनाशकारी बाढी : मृतक संख्या १,३४१ पुग्यो, ४,०४४ अझै बेपत्ता

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३४१ जनाको शव फेला परेको छ भने चार हजार ४४ जना अझै सम्पर्कविहीन छन् ।

प्रहरी प्रधान कार्यालय नक्सालले आज बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेकामध्ये ३२५ महिला, ५२३ पुरुष तथा ४९३ वटा शव चिन्न नसकिने अवस्थाका फेला परेका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । उनका अनुसार अझै चार हजार ४४ जना सम्पर्कविहीन छन् ।

सम्पर्कविहीनमध्ये स्वदेशी पुरुष दुई हजार ८६३, महिला ५७५ तथा विदेशी नागरिकतर्फ पुरुष २६९ र महिला ३३२ र अन्य पाँच जना रहेका प्रवक्ता काफ्लेले जानकारी दिए ।

बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको प्रहरीले जनाएको छ ।

फेला परेकामध्ये एक हजार ३७ शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ भने बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ ।

बाढीपछि हालसम्म नौ हजार १५१ जना घाइतेको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये तीन हजार ९८ जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जनाएको छ ।

यसैगरी, मृतक एक हजार २८६ जना तथा मृतकका आफन्त एक हजार १८६ जना गरी दुई हजार ४७२ जनाको ‘डिएनए’ नमूना संकलन गरिएको छ ।

बेपत्ताको पहिचान तथा शवको सनाखतका लागि ‘डिएनए’ नमूना संकनलाई प्राथमिकताका साथ अघि बढाइएको प्रवक्ता काफ्लेले बताए ।

भोटेकोशी बाढीपछि ठूलो मानवीय क्षति भएको छ । बाढीमा परी बेपत्ता भएकाको खोजी, उद्धार तथा शव व्यवस्थापनका लागि नेपाल प्रहरीसहित सुरक्षा निकाय र सम्बन्धित विभिन्न सरकारी निकाय निरन्तर परिचालित भइरहेका छन् ।