• Menu

सिटिजन्स बैंकद्वारा सेती प्रादेशिक अस्पतालको डायलाइसिस उपचारका लागि आरओ प्रणाली सहयोग

नेपाल प्रफिट

२०८३ असोज ४, आइतबार १३:०३

सिटिजन्स बैंकद्वारा सेती प्रादेशिक अस्पतालको डायलाइसिस उपचारका लागि आरओ प्रणाली सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कैलालीको धनगढी-१ स्थित सेती प्रादेशिक अस्पताललाई डायलाइसिस उपचारका लागि आवश्यक रिभर्स अस्मोसिस (आरओ) प्रणाली सहयोग गरेको छ।

बैंकले अस्पतालमा आयोजित एक कार्यक्रममा अस्पताललाई उक्त प्रणाली हस्तान्तरण गरेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले अस्पतालको डायलाइसिस एकाइका लागि आरओ प्रणाली हस्तान्तरण गरेका हुन्।

सहयोगले सुदूरपश्चिम प्रदेशका मिर्गौला रोगी तथा बिरामीलाई प्रदान गरिँदै आएको डायलाइसिस सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन सहयोग पुग्ने बैंकले जनाएको छ।

अस्पतालको डायलाइसिस युनिटले हाल २१ वटा डायलाइसिस मेसिनमार्फत तीन सिफ्टमा दैनिक करिब २४२ जना बिरामीलाई नियमित सेवा दिँदै आएको छ। अस्पतालको तत्काल आवश्यकता पहिचान गरी बैंकले व्यवस्थापन टोलीसँग छलफलपछि डायलाइसिस युनिटका लागि आवश्यक प्रणाली स्थापनालाई प्राथमिकतामा राखेको जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले सुदूरपश्चिम प्रदेशका मिर्गौला रोगीको उपचारमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए। उनले यस्तो सहयोगबाट विशेषगरी न्यून आय भएका तथा विपन्न समुदायका मिर्गौला रोगीलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा व्यक्त गरे।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा, सामाजिक तथा आर्थिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बैंकको भनाइ छ।

सिटिजन्स बैंकले यसअघि पनि विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ। बैंकका अनुसार उसले देशभर ६१ जिल्लामा २०० शाखा, १६७ एटीएम, ३ वटा विस्तारित काउन्टर तथा ४२ वटा शाखारहित बैंकिङ इकाइमार्फत करिब २० लाख ६४ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

सम्बन्धित समाचार