• Menu

व्यास नगरपालिकाद्वारा पूर्वाधार विकासमा प्रगति, सडक कालोपत्रेदेखि सिँचाइ सुविधा विस्तारसम्म

नेपाल प्रफिट

२०८३ असोज ४, आइतबार १४:५२

व्यास नगरपालिकाद्वारा पूर्वाधार विकासमा प्रगति, सडक कालोपत्रेदेखि सिँचाइ सुविधा विस्तारसम्म

तनहुँ । व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण, सिँचाइ, शिक्षा तथा सार्वजनिक पूर्वाधार निर्माणमा प्रगति गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार गत आर्थिक वर्षमा नगर क्षेत्रमा ६.४६ किलोमिटर नयाँ सडक ‘ट्र्याक’ खोलिएको छ ।

नगरपालिकाले सो अवधिमा ३.३९ किलोमिटर सडक कालोपत्र तथा ढलान गरेको छ भने ६.८८ किलोमिटर सडक ग्राभेल गरेको छ । सडक पूर्वाधारसँगै नगरपालिकाले सहरी व्यवस्थापन र सार्वजनिक संरचना निर्माणलाई प्राथमिकता दिएको प्रमुख प्रशासकीय अधिकृत लम्सालले बताए ।

आर्थिक वर्ष २०८२/८३ मा नगर क्षेत्रमा ११.३६ किलोमिटर ढल निर्माण गरिएको छ । साथै कृषि उत्पादनमा नौ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गरिएको छ ।

नगरपालिकाले सार्वजनिक तथा सामुदायिक पूर्वाधार निर्माणतर्फ पनि काम अघि बढाएको छ । गत आर्थिक वर्षमा तीन वटा पार्क निर्माण गरिएको छ भने १५ वटा नयाँ विद्यालय भवन निर्माण भएका छन् । स्थानीयस्तरमा सामाजिक तथा सामुदायिक गतिविधिका लागि आवश्यक ६ वटा सामुदायिक भवन निर्माण भएका छन् ।

व्यास नगरपालिकामा हालसम्म सडक पूर्वाधारको विकासमा उल्लेख्य विस्तार भएको छ । हालसम्म एक सय ५८.६९ किलोमिटर सडक कालोपत्र तथा ढलान भइसकेको छ भने ३५.०९ किलोमिटर सडक ग्राभेल गरिएको छ ।

नगरका विभिन्न बस्ती तथा ग्रामीण क्षेत्रलाई सडक सञ्जालसँग जोड्ने क्रममा हालसम्म ७२५.६७ किलोमिटर नयाँ सडक ‘ट्र्याक’ खोलिएको छ । हालसम्म व्यास नगरपालिकाभित्र २२ वटा मोटरेबल पुल र १५ वटा झोलुंगे पुल निर्माण भएका छन् ।

त्यसैगरी, हालसम्म नगर क्षेत्रमा ११८.९५ किलोमिटर ढल निर्माण भइसकेको प्रमुख प्रशासकीय अधिकृत लम्सालले बताउनुभयो । बाढी तथा नदी कटानबाट बस्ती र खेतीयोग्य जमिन जोगाउन हालसम्म ५.१७ किलोमिटर नदी नियन्त्रणको काम सम्पन्न भएको छ ।

कृषि क्षेत्रमा सिँचाइ सुविधा विस्तारका लागि पनि नगरपालिकाले लगानी गर्दै आएको छ । हालसम्म २४.०७ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गरिएको नगरपालिकाले जनाएको छ । गत आर्थिक वर्षमा मात्रै थप नौ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको हो ।

व्यास नगरपालिकाले खुला तथा मनोरञ्जनात्मक क्षेत्र विकासलाई समेत आफ्नो पूर्वाधार योजनामा समेटेको छ । हालसम्म नगर क्षेत्रमा १९ वटा पार्क निर्माण भएका छन् ।