• Menu

भोटेकोशी बाढीमा बेपत्ता भएका कर्मचारी तथा कामदारका परिवारका लागि नेपाल विद्युत प्राधिकरणद्वारा राहत प्याकेज घोषणा

नेपाल प्रफिट

२०८३ असोज १, बिहीबार १७:३७

भोटेकोशी बाढीमा बेपत्ता भएका कर्मचारी तथा कामदारका परिवारका लागि नेपाल विद्युत प्राधिकरणद्वारा राहत प्याकेज घोषणा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका कर्मचारी तथा कामदारका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

बाढीका कारण रसुवाका १३ वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ भने विभिन्न आयोजनामा कार्यरत कर्मचारी तथा कामदारसमेत बेपत्ता भएका छन्। प्राधिकरणअन्तर्गत मात्रै ४७ जना कर्मचारी तथा कामदार बेपत्ता रहेको प्राधिकरणले जनाएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार साँझ बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले बेपत्ता कर्मचारी तथा कामदारका आश्रित परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो।

प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार राहत प्याकेजअन्तर्गत बेपत्ता कर्मचारी तथा कामदारको खोजी, धार्मिक तथा सामाजिक संस्कार र दैनिक जीवनयापनमा सहयोग पु¥याउने उद्देश्यले रकम उपलब्ध गराइनेछ।

निर्णयअनुसार बेपत्ता भएका स्थायी कर्मचारी, ज्यालादारी तथा सेवा करारका कामदारका नजिकका हकवालालाई तत्काल राहतस्वरूप प्रति व्यक्ति ५० हजार रुपैयाँ उपलब्ध गराइनेछ।

त्यस्तै, स्थायी कर्मचारीका नजिकका हकवालालाई थप निर्वाह रकमसमेत उपलब्ध गराउने निर्णय भएको छ। प्राधिकरणले क्षतिपूर्ति वा अन्य रकमसम्बन्धी थप निर्णय नगरेसम्म वा बढीमा ६ महिनासम्म, भदौ महिनादेखि लागू हुने गरी बेपत्ता स्थायी कर्मचारीले पाउने तहको सुरु तलबमानको ५० प्रतिशत रकम मासिक रूपमा उपलब्ध गराइनेछ ।

प्राधिकरणले राहत रकम बेपत्ता कर्मचारी तथा कामदारको खोजी कार्य, सामाजिक तथा धार्मिक संस्कार र परिवारको जीवनयापनमा सहयोग पुग्ने गरी उपलब्ध गराउन लागेको जनाएको छ। बैठकमा ऊर्जा मन्त्री श्रेष्ठले बेपत्ता कर्मचारी तथा कामदारका परिवार सरकारको जिम्मेवारी भएको बताए ।

‘हामी एउटै परिवार हौँ। यो पैसाले यत्रो ठूलो दुःखको घाउ त निको पार्दैन, तर मल्हम लगाउने काम गरोस्,’ मन्त्री श्रेष्ठले भने ।

भोटेकोशी नदीमा आएको बाढीका कारण ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेपछि प्रभावित आयोजना तथा त्यहाँ कार्यरत कर्मचारी र कामदारको अवस्था गम्भीर बनेको छ। प्राधिकरणले बेपत्ता कर्मचारी तथा कामदारको परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो ।