• Menu

काठमाडौंमा आगामी माघमा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ हुने, १०० भन्दा बढी स्टल रहने

नेपाल प्रफिट

२०८३ असोज १, बिहीबार १६:३३

काठमाडौंमा आगामी माघमा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ हुने, १०० भन्दा बढी स्टल रहने

काठमाडौं । नेपालको ऊर्जा क्षेत्रको विकास, लगानी, प्रविधि र नवप्रवर्तनलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र इभेन्ट्स सोलुसन प्रालिको संयुक्त आयोजनामा आगामी माघ ३ देखि ५ गतेसम्म काठमाडौंमा एक्स्पो आयोजना गर्न लागिएको हो।

‘उत्थानशील ऊर्जा, समृद्ध नेपाल’ भन्ने नारासहित आयोजना हुने एक्स्पोको यो पाँचौं संस्करण हो। यसअघि सन् २०१७, २०१८, २०२२ र २०२४ मा एक्स्पो आयोजना भइसकेको आयोजकले जनाएको छ।

नेपालको विद्युत् उत्पादन क्षमता करिब ४ हजार ३०० मेगावाट पुगेको अवस्थामा सरकारले सन् २०३५ सम्म ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य अघि सारेको छ। उक्त लक्ष्य हासिल गर्न विद्युत उत्पादनसँगै प्रसारण तथा वितरण पूर्वाधार विस्तार, घरेलु खपत वृद्धि, औद्योगिक विद्युतीकरण, विद्युतीय सवारी, ऊर्जा भण्डारण तथा भारत र बंगलादेशसँगको अन्तरदेशीय विद्युत व्यापार विस्तार आवश्यक रहेको आयोजकको भनाइ छ।

इप्पानका अनुसार हाल करिब ६ हजार ४०० मेगावाट क्षमताका आयोजना निर्माणाधीन छन्। त्यस्तै, १७ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजना अध्ययन सम्पन्न गरी विद्युत् खरिद सम्झौताका लागि आवेदन दिई निर्माणको तयारीमा रहेका छन्। निर्माण सम्पन्न आयोजनामध्ये निजी क्षेत्रको हिस्सा ८० प्रतिशतभन्दा बढी रहेको आयोजकले जनाएको छ।

ऊर्जा क्षेत्र विस्तार भइरहेका बेला जलवायु परिवर्तनजन्य जोखिम पनि बढ्दै गएको भन्दै एक्स्पोमा सुरक्षित, दिगो तथा विपद्उ-त्थानशील ऊर्जा पूर्वाधार निर्माणका विषयलाई प्राथमिकताका साथ उठाइने भएको छ। पछिल्ला वर्षहरूमा विभिन्न क्षेत्रमा देखिएका बाढी, पहिरो तथा गेग्रान बहावका कारण जलविद्युत आयोजनाका पूर्वाधारमा पुगेको क्षतिबाट पाठ सिक्दै जोखिम न्यूनीकरण तथा उत्थानशील पूर्वाधार निर्माणबारे छलफल गरिने आयोजकले जनाएको छ।

स्वच्छ ऊर्जाका विभिन्न क्षेत्र समेटिने

एक्स्पो परम्परागत जलविद्युतमा मात्र सीमित नरही सौर्य, वायु, बायोग्यास तथा जैविक पदार्थबाट ऊर्जा, फोहोरबाट ऊर्जा, ऊर्जा भण्डारण, हरित हाइड्रोजन, विद्युतीय सवारी, स्मार्ट विद्युत सञ्जाल तथा डिजिटल प्रविधिसहितको व्यापक स्वच्छ ऊर्जा क्षेत्रमा केन्द्रित हुने बताइएको छ।

आयोजकका अनुसार एक्स्पोमा ऊर्जा उत्पादक, आयोजना विकासकर्ता, लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, प्रविधि प्रदायक, उपकरण निर्माता, इन्जिनियरिङ तथा निर्माण कम्पनी, नीतिनिर्माता, नियामक निकाय, विश्वविद्यालय, अनुसन्धान संस्था, नयाँ प्रविधि विकास गर्ने संस्था तथा विकास साझेदारबीच व्यावसायिक सम्पर्क, लगानी साझेदारी, प्रविधि हस्तान्तरण र ज्ञान आदानप्रदानका अवसर सिर्जना गरिनेछ।

अन्तर्राष्ट्रिय कम्पनी तथा प्रतिनिधिमण्डलको सहभागितामार्फत नेपाली ऊर्जा बजारमा नयाँ प्रविधि र लगानी भित्र्याउने तथा नेपाली कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यसमेत राखिएको छ।

व्यावसायिक भेटघाटदेखि ऊर्जा सम्मेलनसम्म

एक्स्पोका क्रममा व्यवसायीबीच प्रत्यक्ष भेटघाट, हिमालयन ग्रीन इनर्जी सम्मेलन, विभिन्न देशका छुट्टाछुट्टै प्रदर्शनी कक्ष, हरित ऊर्जा ज्ञान केन्द्र, आयोजना स्थल भ्रमण, प्रत्यक्ष प्रविधि प्रदर्शन, नयाँ प्रविधि विकास गर्ने संस्था केन्द्र, ऊर्जा उत्पादन तथा सेवासम्बन्धी प्रतिस्पर्धा, जलविद्युत निर्माण सामग्रीसम्बन्धी प्रदर्शनी, विद्युतीय सवारी साधन र्या‍ली तथा विशेष रात्रिभोज आयोजना गरिनेछ।

प्रदर्शनीमा टर्बाइन, जेनेरेटर, सौर्य ऊर्जा प्रणाली, विद्युत् परिवर्तक, ब्याट्री तथा ऊर्जा भण्डारण प्रणाली, ट्रान्सफर्मर, स्विचगियर, प्रसारण तथा वितरण प्रविधि, विद्युत सञ्जाल प्रविधि, स्वचालन तथा स्मार्ट ऊर्जा समाधानलगायतका उपकरण तथा प्रविधि प्रदर्शन गरिने आयोजकले जनाएको छ।

विद्यार्थी तथा नवप्रवर्तकले विकास गरेका ऊर्जा क्षेत्रसम्बन्धी नयाँ अवधारणा, वस्तु तथा सेवाको प्रतिस्पर्धासमेत आयोजना गरिनेछ।

भारत, चीन, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक गणतन्त्र, इटाली, स्विडेन, बेलायत र ब्राजिललगायत विभिन्न देशका कम्पनी तथा सरोकारवालाको सहभागिता गराउने तयारी गरिएको छ।

सरकारी तथा नियामक निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, आयोजना विकासकर्ता, प्रविधि तथा उपकरण उत्पादक, आयातकर्ता, वितरक, परामर्शदाता, निर्माण व्यवसायी, विश्वविद्यालय, अनुसन्धान संस्था, कूटनीतिक नियोग, सञ्चारमाध्यम तथा ऊर्जा क्षेत्रका विज्ञलाई समेत एक्स्पोमा सहभागी गराउने आयोजकको तयारी छ।

एक सयभन्दा बढी प्रदर्शनी कक्ष रहने

इप्पानका अनुसार एक्स्पोमा एक सयभन्दा बढी प्रदर्शनी कक्ष रहनेछन्। तीन दिनमा ३० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ।

इप्पानले आफ्नो स्थापना दिवसको अवसर पारेर आयोजना गर्न लागेको यस कार्यक्रमलाई हरेक वर्ष माघ ३, ४ र ५ गते आयोजना गर्ने वार्षिक ऊर्जा कार्यक्रमका रूपमा निरन्तरता दिने लक्ष्य राखेको छ।

इप्पानले २०५७ माघ ४ गते स्थापना भएदेखि निजी क्षेत्रको ऊर्जा उत्पादन तथा लगानी विस्तार, लगानीमैत्री वातावरण निर्माण, नीतिगत सुधार तथा सरकार र निजी क्षेत्रबीच सहकार्यका लागि पहल गर्दै आएको जनाएको छ।

आयोजकले राष्ट्रिय विद्युत उत्पादन लक्ष्य हासिल गर्न आवश्यक लगानी, प्रविधि र साझेदारी विस्तारका साथै जलवायुजन्य जोखिम सामना गर्न सक्ने सुरक्षित, दिगो र उत्थानशील ऊर्जा क्षेत्र निर्माणमा एक्स्पोले योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

एक्स्पोमा सहभागिता तथा प्रदर्शनी कक्ष बुकिङ खुला गरिएको छ। स्टल बुकिङ तथा सहभागितासम्बन्धी थप जानकारीका लागि इप्पान सचिवालय तथा एक्स्पो व्यवस्थापक इभेन्ट्स सोलुसन प्रालिमा सम्पर्क गर्न आयोजकले आग्रह गरेको छ।

सम्बन्धित समाचार