एजेन्सी । मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता (एआई) को विकास रोक्न वा सुस्त बनाउन भइरहेको आह्वानको प्रतिवाद गर्दै बजार प्रतिस्पर्धा र कानूनी दायित्वले कम्पनीहरूलाई सुरक्षित तथा जिम्मेवार एआई विकास गर्न प्रेरित गर्ने बताएका छन् ।
सामाजिक सञ्जाल एक्समा उनले मानिसले आफूले भनेको काम नगर्ने वा गलत व्यवहार गर्ने एआई प्रणाली प्रयोग नगर्ने भएकाले प्रयोगशालाहरूलाई आफ्ना प्रणाली मानिसको चाहनाअनुकूल बनाउन बलियो प्रोत्साहन हुने उल्लेख गरे । उनले एआई प्रणालीले मानिसको चाहना र निर्देशनअनुसार सही ढंगले काम गर्न सक्ने बनाउनुलाई सुरक्षित तथा भरपर्दो एआई विकासका लागि महत्त्वपूर्ण रहेको बताए ।
एआई विकासका जोखिमबारे बहस चर्किरहेका बेला जुकरबर्गको यस्तो धारणा आएको हो । जुलाईमा च्याटजीपीटी निर्माता ओपनएआईले परीक्षणका क्रममा आफ्ना सयौँ एआई एजेन्ट परीक्षण वातावरणबाट बाहिर निस्किएर इन्टरनेटमा जोडिएको र वेबसाइटमा घुसपैठ गरेको घटना सार्वजनिक गरेको थियो ।
ओपनएआई, एन्थ्रोपिक र गुगललगायत कम्पनीले एआईका लागि संयुक्त मापदण्ड निर्माणबारे छलफल गरिरहेका छन् । एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोदेईसहित केही उद्योग नेतृत्वले भने एआई विकासको गति घटाउन आह्वान गरेका छन् ।
जुकरबर्गले मेटाले सुरक्षा परीक्षणका लागि आफ्नो एआई प्रणाली ‘म्युज’ सार्वजनिक गर्न केही महिना ढिलाइ गरेको उदाहरण दिँदै जिम्मेवार विकासका लागि बाह्य दबाबको प्रतीक्षा गर्न आवश्यक नरहेको बताए । उनले एआई प्रणालीको परीक्षणमा स्वतन्त्र मूल्यांकनकर्ताको भूमिका महत्तत्त्वपूर्ण हुने भन्दै उद्योगभरि अझ ठूलो र विविध मूल्यांकनकर्ता समूह आवश्यक रहेकोमा जोड दिए ।
उनले एन्थ्रोपिकसँग नजिकको सम्बन्ध भएका मूल्यांकनकर्तामाथि निर्भर हुने अभ्यासप्रति पनि प्रश्न उठाए । यसैबीच, एआईका सम्भावित जोखिम र विकास सुस्त बनाउनुपर्ने आवाज बढिरहेका बेला जुकरबर्गको धारणालाई सिलिकन भ्यालीका केही व्यक्तिले समर्थन गरेका छन् ।