• Menu

काभ्रेमा ५५ वटा खानेपानी परियोजना सम्पन्न, ४ हजारभन्दा बढी नागरिक लाभान्वित

नेपाल प्रफिट

२०८३ भदौ २९, सोमबार १७:३१

काभ्रेमा ५५ वटा खानेपानी परियोजना सम्पन्न, ४ हजारभन्दा बढी नागरिक लाभान्वित

काभ्रे । बाग्मती प्रदेश सरकारले जिल्लाका ग्रामीण क्षेत्रमा खानेपानीको पुहँच विस्तार गरिरहेको छ ।  बागमती प्रदेश सरकार, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सिन्धुपाल्चोकले परियोजनामार्फत गएको एक वर्षमा एक हजारभन्दा बढी धारा जडान गरेको हो ।

कार्यालयले काभ्रेपलाञ्चोकमा मात्रै ५५ वटा खानेपानीका परियोजना सम्पन्न गरी चार हजारभन्दा बढी जनसंख्यालाई स्वच्छ खानेपानीको पहुँच पुर्याएको छ । ती योजनाबाट जिल्लामा थप चार हजार ७२ नागरिक प्रत्यक्ष लाभान्वित भएको कार्यालय प्रमुख श्रृष्टि ख्वालापालाले जानकारी दिइन् ।

चालु आर्थिक वर्षमा भने बनेपा, धुलिखेल, बेथानचोक, महाभारत र तेमालमा नयाँ धारा जडानको योजना अघि बढाइने प्रक्रियामा रहेको जनाइएको छ । बाँकी आठ स्थानीय तहमा ५५ आयोजना सम्पन्न गरिएको र बाँकी क्रमागतः करिब दुई दर्जन आयोजना निर्माणाधीन रहेको कार्यालयले जनाएको छ । ‘विशेष गरी प्रदेश सरकारको बजेटमार्फत आठ स्थानीय तहका ग्रामीण क्षेत्रमा आयोजना सञ्चालन गरी खानेपानीको पहुँच विस्तार भइरहेको हो, हालसम्म सम्पन्न भएका र सञ्चालनमा रहेका आयोजनाको बजेट सिलिङ भने सूचीकृतको चरणमै छौँ,’ प्रमुख ख्वालापालाले भनिन् ।

एकै वर्षमा एक हजारभन्दा बढी नयाँ धारा थपिनुले ग्रामीण तथा खानेपानीको पहुँच कमजोर रहेका क्षेत्रमा आधारभूत खानेपानी पूर्वाधार विस्तारमा प्रदेश सरकारको लगानी बढेको तथ्यांकले देखाएको प्रमुख ख्वालापालाको भनाइ छ । उनका अनुसार सबैभन्दा धेरै धारा भुम्लु गाउँपालिकामा ३३८, त्यसपछि रोशीमा ३०६, पनौती नगरमा १८८, नमोबुद्ध नगरमा ५५, पाँचखाल नगरमा ४१, चौरीदेउरालीमा ४१, खानीखोलामा ३६ तथा मण्डनदेउपुर नगरपालिकामा १४ वटा नयाँ धारा जडान गरिएको छ ।

यस्तै नयाँ धारा निर्माणसँगै जिल्लाका विभिन्न स्थानीय तहमा खानेपानी पूर्वाधार विस्तार र सुधारका कामसमेत भएको पाइएको छ । जसनुसार बनेपामा छ, पनौतीमा तीन, धुलिखेल, बेथानचोक र महाभारतमा एकरएक, नमोबुद्धमा नौ, पाँचखालमा चार तथा मण्डनदेउपुरमा पाँच वटा खानेपानी आयोजना सम्पन्न भएका हुन् । त्यस्तै रोशीमा छ, खानीखोलामा चार, तेमालमा दुई, भुम्लुमा तीन र चौरीदेउरालीमा १० वटा आयोजना सम्पन्न गरिएको ख्वालापालाले जानकारी दिइन् ।

यस्तै ५०.५८ किलोमिटर मुख्य ट्रान्समिसन पाइपलाइन र १०९.५५ किमी वितरण पाइपलाइन विस्तार गरिएको छ । यस अवधिमा ४७ पानीपोखरीका साथै १८ पम्पघर निर्माण गरिएको कार्यालयले जनाएको छ ।

आयोजनाअन्तर्गत खानेपानीका स्रोत संरक्षण तथा ढुंगेधाराको मर्मत-पुनर्स्थापनातर्फसमेत काम भएका छन् । सात वटा पानीको स्रोत संरक्षण तथा ढुंगेधारा मर्मत-पुनर्स्थापना, ३७० मिटर ढल निर्माण, ३९ भल्भ च्याम्बर, दुई कलेक्सन च्याम्बर, तीन वासआउट च्याम्बर र तीन ब्रेक प्रेसर ट्यांकी निर्माण गरिएको कार्यालयले जनाएको छ ।