• Menu

भोटेकोशी बाढीपीडितका लागि श्रीलंकाद्वारा १० लाख अमेरिकी डलर सहयोग

नेपाल प्रफिट

२०८३ भदौ २४, बुधबार १७:०१

भोटेकोशी बाढीपीडितका लागि श्रीलंकाद्वारा १० लाख अमेरिकी डलर सहयोग

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि श्रीलंकाकी राजदूत रुवान्थी डेल्पिटियाले शिष्टाचार भेट गरेकी छन्।

परराष्ट्र मन्त्रालयमा बुधबार भएको भेटमा राजदूत डेल्पिटियाले हालैको विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि श्रीलंका सरकारका तर्फबाट १० लाख अमेरिकी डलर आर्थिक सहयोग हस्तान्तरण गरेकी छन् ।

भेटका क्रममा राजदूत डेल्पिटियाले बाढीबाट भएको जनधन तथा पूर्वाधारको क्षतिप्रति श्रीलंका सरकार र जनताको तर्फबाट दुःख व्यक्त गर्दै नेपाल सरकार तथा नेपाली जनताप्रति ऐक्यबद्धता प्रकट गरिन्।

बाढी प्रभावित क्षेत्रमा जारी मानवीय सहायता तथा राहत प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले श्रीलंका सरकारले उपलब्ध गराएको आर्थिक सहयोग उनले परराष्ट्रमन्त्री खनाललाई हस्तान्तरण गरिन् ।

सो अवसरमा परराष्ट्रमन्त्री खनालले विपद्को कठिन समयमा नेपालप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा मानवीय प्रयासका लागि आर्थिक सहयोग उपलब्ध गराएकोमा श्रीलंका सरकार र त्यहाँका जनताप्रति गहिरो कृतज्ञता व्यक्त गरे।

मन्त्री खनालले श्रीलंका को सहयोगले नेपाल र श्रीलंका बीचको गहिरो मित्रता, पारस्परिक सहयोग तथा सहकार्यलाई प्रतिबिम्बित गरेको बताए। विपद्का बेला श्रीलंका ले देखाएको सद्भाव र सहयोगका लागि नेपाल सरकारका तर्फबाट उनले धन्यवादसमेत व्यक्त गरे।