• Menu

एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सबाट बाढी प्रभावितलाई ५६ लाखभन्दा बढी सहयोग

नेपाल प्रफिट

२०८३ भदौ २३, मंगलबार १६:१५

एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सबाट बाढी प्रभावितलाई ५६ लाखभन्दा बढी सहयोग

काठमाडौं  । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र एनआईबीएल इक्विटी पार्टनर्सले २१ लाख रुपैयाँ सहयोग गरेका छन् ।

उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत बाढी प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा उपयोग गर्ने उद्देश्यले प्रदान गरिएको हो।

यसैगरी, एनआईबीएल इक्विटी पार्टनर्सका लगानी रहेका विभिन्न कम्पनीहरूले पनि प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि सामूहिक रूपमा करिब ३५ लाख रुपैयाँ नगद सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। यससँगै एनआईएमबी एस क्यापिटल, एनआईबीएल इक्विटी पार्टनर्स तथा उसका लगानी रहेका कम्पनीहरूबाट बाढी प्रभावितका लागि ५६ लाख रुपैयाँभन्दा बढी सहयोग जुटेको छ ।

बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लाको पुनर्निर्माण तथा दीर्घकालीन विकासमा समेत आवश्यक सहयोग पुर्‍याउने प्रतिबद्धता संस्थाहरूले व्यक्त गरेका छन् ।

प्रभावित क्षेत्रको आर्थिक गतिविधिलाई पुनः चलायमान बनाउन आगामी दिनमा लगानीका अवसर विस्तार गर्ने तथा शाखा सञ्जाल विस्तारमार्फत पुँजी बजार र वित्तीय सेवाको पहुँचलाई थप सहज बनाउने पहल गरिने जनाइएको छ ।

यस पहलले प्रभावित जिल्लाका परिवार तथा समुदायलाई वित्तीय सेवासँग थप जोड्नुका साथै स्थानीय आर्थिक गतिविधि र दीर्घकालीन विकासमा योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

यसैबीच, बाढीका कारण ज्यान गुमाएका नागरिकहरूप्रति एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्स परिवारले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।