• Menu

बाढी प्रभावितका लागि म्याक्सस नेपालको ७० लाख सहयोग घोषणा

नेपाल प्रफिट

२०८३ भदौ १२, शुक्रबार १२:५५

बाढी प्रभावितका लागि म्याक्सस नेपालको ७० लाख सहयोग घोषणा

काठमाडौं । हिमालय अर्गनाइजेसनअन्तर्गतको म्याक्सस नेपालले हालैको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनर्स्थापनाका लागि ७० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

घोषित सहयोग रकममध्ये ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्ने योजना रहेको कम्पनीले जनाएको छ। उक्त रकम नेपाल सरकारमार्फत सञ्चालन हुने राहत, उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणका कार्यमा प्रयोग हुने बताइएको छ ।

त्यस्तै, बाँकी २० लाख रुपैयाँ बराबरको अत्यावश्यक राहत सामग्री खरिद गरी बाढी प्रभावित क्षेत्रमा वितरण गरिने कम्पनीले जनाएको छ । राहत सामग्री सामाजिक संस्था तथा सम्बन्धित स्थानीय सरकारसँगको समन्वयमा सबैभन्दा बढी प्रभावित र तत्काल सहयोग आवश्यक रहेका क्षेत्रमा वितरण गर्ने योजना रहेको छ ।

प्रत्यक्ष राहत वितरणका लागि सम्बन्धित निकाय तथा सरोकारवालासँग समन्वय गरी प्राथमिकताका क्षेत्र र आवश्यक सामग्रीको पहिचान गरिने म्याक्सस नेपालले जनाएको छ। राहत सामग्रीको प्रकृति, वितरण क्षेत्र, प्रक्रिया तथा कार्यान्वयनको समयतालिकाबारे आवश्यक तयारी र समन्वय पूरा भएपछि विस्तृत जानकारी सार्वजनिक गरिने बताइएको छ।

त्यसैगरी, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम हस्तान्तरण गर्ने मिति पनि आवश्यक समन्वयपछि सार्वजनिक गरिनेछ।

म्याक्सस नेपालले यो पहल नेपाल र नेपाली जनताप्रतिको आफ्नो दीर्घकालीन प्रतिबद्धताको प्रतीक भएको जनाएको छ। कम्पनीले घोषित सहयोगलाई जिम्मेवार, पारदर्शी र प्रभावकारी रूपमा कार्यान्वयन गर्दै राहत तथा पुनर्स्थापनाको प्रयासमा अर्थपूर्ण योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।