• Menu

युरोपेली बजेटमा म्याक्रोँ र ले पेनबीच टकराव

नेपाल प्रफिट

२०८३ मंसिर ११, शुक्रबार १७:४६

युरोपेली बजेटमा म्याक्रोँ र ले पेनबीच टकराव

एजेन्सी । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ र अति-दक्षिणपन्थी नेतृ मरिन ले पेनबीच युरोपेली संघ (इयू) को आगामी बजेटलाई लिएर विवाद चर्किएको छ । म्याक्रोँले बिहीबार ले पेनप्रति कठोर टिप्पणी गर्दै उनलाई ‘अहङ्कारी’ नेताको संज्ञा दिएका छ ।

फ्रान्समा आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनलाई ध्यानमा राख्दै इयूको सन् २०२८ देखि २०३४ सम्मको बजेटलाई अन्तिम रूप दिने प्रयासको ले पेनले आलोचना गरेका थिए । उनले चुनावको मुखमा युरोपेली बजेटबारे सहमति जुटाउने प्रयासलाई फ्रान्सेली जनताको लोकतान्त्रिक इच्छाविपरीतको राजनीतिक चालबाजीको संज्ञा दिएका थिए ।

ले पेनले सामाजिक सञ्जाल एक्समा फ्रान्स आर्थिक संकट र सामाजिक उथलपुथलको अवस्थामा रहेको उल्लेख गर्दै नेताहरूले राजनीतिक चालबाजीभन्दा देशको अवस्था सुधार्न ध्यान दिनुपर्ने बताएकी थिइन् ।

त्यसको जवाफमा म्याक्रोँले ले पेनले आफूलाई फ्रान्सको भविष्यको जिम्मेवारी सम्हालिसकेको जस्तो व्यवहार गर्नु अनौठो अहङ्कार भएको टिप्पणी गरिन् । उनले ले पेन अहिलेसम्म निर्वाचित नभएको पनि स्मरण गराए ।

यसअघि पनि दुई नेताबीच युक्रेनलाई दिइने सहयोग र इयूमा फ्रान्सको आर्थिक योगदानका विषयमा विवाद भएको थियो । गत महिना म्याक्रोँले ले पेनलाई ‘विनम्र रहन’ आग्रह गरेका थिए ।

बजेट वार्तामा चुनावको प्रभाव

फ्रान्सको आगामी राष्ट्रपति निर्वाचनले बेल्जियमको ब्रसेल्समा भइरहेको इयूका नेताहरूको बजेटसम्बन्धी छलफललाई समेत प्रभावित पारेको छ । युरोपेली कूटनीतिज्ञहरूले ले पेनको सम्भावित चुनावी जित र त्यसबाट उत्पन्न हुन सक्ने परिणामलाई वार्ताको प्रमुख चिन्ताका रूपमा लिएका छन् ।

यद्यपि, अस्ट्रियाका चान्सलर क्रिस्चियन स्टकरले फ्रान्सको चुनावबाट आफूहरू नडराएको बताएका छन् । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले पनि बजेटमा सहमति जुटाउन कुनै कडा समयसीमा नरहेको धारणा व्यक्त गरेका छन् ।

युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले भने यसै वर्षको अन्त्यसम्म बजेटमा सहमति जुटाउन नेताहरूलाई आग्रह गरेका छन् । उनले सबै सदस्य राष्ट्रलाई खुला सोच, रचनात्मक दृष्टिकोण र सम्झौताको भावनासहित छलफलमा सहभागी हुन आह्वान गरेका छन् ।

युरोपेली आयोगले दुई ट्रिलियन युरोको खर्च योजना प्रस्ताव गरेपछि सन् २०२६ को अधिकांश समय सदस्य राष्ट्रहरूबीच सन् २०२८-२०३४ को बजेटको आकार र खर्चको प्राथमिकताबारे बहस हुँदै आएको छ ।

युक्रेनको आर्थिक सहयोगमा मतभेद

बजेट वार्तामा युक्रेनलाई दिइने आर्थिक सहयोग अर्को प्रमुख विवादको विषय बनेको छ । जर्मन चान्सलर फ्रेडरिक मर्जले आगामी बजेटसम्बन्धी सहमतिलाई युक्रेनको वित्तपोषणसँग जोडेका छन् ।

सदस्य राष्ट्रहरूलाई सन् २०२७ सम्म युक्रेनलाई सहयोग जारी राख्न थप ४५ अर्ब युरो ऋण उपलब्ध गराउन आग्रह गरिएको छ । तर चेक गणतन्त्र, हङ्गेरी र स्लोभाकियाले यसमा छुटको माग गरेका छन् ।

मर्जले भने युरोपेली संघ २७ वटै सदस्य राष्ट्रको साझा संगठन भएकाले केही देशलाई मात्र जिम्मेवारीबाट अलग राख्न नसकिने बताएका छन् । चेक नेता आन्द्रेज बाबिसले भने युक्रेनको आर्थिक सहयोगलाई युरोपेली बजेटबाट अलग रूपमा समाधान गर्नुपर्ने धारणा राखेका छन् ।

बजेटको आकार र खर्च बाँडफाँटमा पनि सदस्य राष्ट्रहरूबीच मतभेद छ । जर्मनी र नेदरल्यान्ड्सलगायतका मितव्ययी राष्ट्रहरूले सानो बजेटको पक्षमा वकालत गरिरहेका छन् । तर फ्रान्सले किसानका लागि थप रकम र युरोपका बढ्दो चुनौती सामना गर्न ठूलो बजेट आवश्यक रहेको बताउँदै आएको छ ।

त्यस्तै, १७ दक्षिणी, मध्य र पूर्वी युरोपेली राष्ट्र सम्मिलित ‘फ्रेन्ड्स अफ कोहेसन’ समूहले कृषि तथा क्षेत्रीय विकासका लागि थप बजेट माग गरेको छ ।

विभाजन कम गर्ने उद्देश्यले कोस्टाले बजेटबाट २०४ अर्ब युरो कटौती गर्ने र डिजिटल कम्पनीहरूमा कर लगाउने प्रस्ताव गरेका छन् । तर प्रस्तावित कटौतीप्रति सदस्य राष्ट्रहरूले असन्तुष्टि जनाएका छन् ।

पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले सुरक्षामा हुने खर्च कटौतीप्रति असन्तुष्टि जनाउँदै ‘सस्तो युरोप अत्यन्त महँगो गल्ती साबित हुन सक्छ, सुरक्षाको मूल्य हुन्छ’ भन्दै चेतावनी दिएका छन् ।

यसैबीच, कृषि अनुदान कटौतीको विरोधमा सयौँ किसानले ब्रसेल्समा प्रदर्शन गरेका छन् । उनीहरूले आगामी डिसेम्बरमा हुने शिखर सम्मेलनका क्रममा अझ ठूलो प्रदर्शन गर्ने चेतावनी दिएका छन् ।