• Menu

अनौपचारिक श्रमिकको १ प्रतिशत योगदान सरकारले जम्मा गरिदिने, १ अर्ब ८० करोड बजेट विनियोजन

नेपाल प्रफिट

२०८३ मंसिर ११, शुक्रबार १६:३१

अनौपचारिक श्रमिकको १ प्रतिशत योगदान सरकारले जम्मा गरिदिने, १ अर्ब ८० करोड बजेट विनियोजन

काठमाडौं । सरकारले संघीय सरकारका करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक, बालविकास सहजकर्ता र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाएको छ ।

सामाजिक सुरक्षाको दायरा विस्तार गर्दै सबै श्रमजीवी नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा समेट्ने नीतिअनुसार सरकारले नीतिगत तथा संस्थागत पहल अघि बढाएको हो ।

नवौँ सामाजिक सुरक्षा दिवस, २०८३ का अवसरमा आयोजित कार्यक्रममा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले सामाजिक सुरक्षा सबै श्रमिकको साझा अधिकार र सुरक्षित भविष्यको आधार भएको बताइन् ।

उनका अनुसार चालु आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा कोष खर्च शीर्षकअन्तर्गत विनियोजित एक अर्ब ८० करोड ६३ लाखबाट संघीय सरकारका करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक र बालविकास सहजकर्तालाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउने प्रक्रिया थालिएको छ ।

त्यसैगरी, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई कोषमा आबद्ध गराउन सरकारले सहयोग गर्ने व्यवस्था अघि बढाइएको छ । स्थानीय तहको सहयोगमा कोषमा आबद्ध हुने श्रमिकका लागि हाललाई एक प्रतिशत बराबरको योगदान सरकारले जम्मा गरिदिने व्यवस्था गरिएको मन्त्री बादीले जानकारी दिइन् ।

मन्त्री बादीले सामाजिक सुरक्षा प्रणालीको विस्तारसँगै विभिन्न निकाय र क्षेत्रमा छरिएर रहेका कल्याणकारी कोष तथा सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमलाई एकीकृत र समन्वय गर्नुपर्ने आवश्यकता औँल्याइन् । सेवा प्रवाहलाई योगदानकर्तामैत्री, पारदर्शी, सरल र प्रभावकारी बनाउनुका साथै कोषको संस्थागत क्षमता विकास सरकारको प्राथमिकतामा रहेको उनले बताइन् ।

सामाजिक सुरक्षालाई रोजगारदातामाथिको अतिरिक्त आर्थिक भारका रूपमा नभई श्रमिकको क्षमता, उत्पादकत्व, श्रमको सम्मान र संस्थागत स्थायित्वमा गरिएको लगानीका रूपमा बुझ्नुपर्ने मन्त्री बादीको भनाइ थियो ।

हाल सामाजिक सुरक्षा कोषमा ३३ लाखभन्दा बढी योगदानकर्ता र करिब २४ हजार रोजगारदाता सूचीकृत भएका छन् । कोषमा एक खर्ब ३३ अर्ब २६ करोडभन्दा बढी योगदान रकम संकलन भएको छ भने २३ अर्ब २६ करोडभन्दा बढी दाबी भुक्तानी भइसकेको छ ।

संविधानले सामाजिक सुरक्षालाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै मन्त्री बादीले योगदानमा आधारित र गैरयोगदानमूलक सामाजिक सुरक्षा प्रणालीलाई एकअर्काका पूरकका रूपमा विकास गरी नागरिकको जीवनचक्रमा आधारित सामाजिक संरक्षण सुनिश्चित गर्नुपर्ने बताइन् ।

यस वर्षको नवौँ सामाजिक सुरक्षा दिवस ‘सामाजिक सुरक्षा कोषमा आबद्धता स् वर्तमान र भविष्यको सुरक्षा’ भन्ने नारासहित मनाइएको हो । रासस