काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्से ८.५७ अंकले घटेर २ हजार ६२८ अंकमा झरेको छ । अघिल्लो कारोबार दिन बिहीबार पनि नेप्से १०.८९ अंकले घटेको थियो ।
नेप्से परिसूचकसँगै आज कारोबार रकममा समेत कमी आएको छ । बिहीबार ५ अर्ब ४८ करोड रुपैयाँको सेयर कारोबार भएकोमा शुक्रबार ४ अर्ब ८२ करोड रुपैयाँमा सीमित भएको छ ।
आज कारोबारमा आएका २७९ कम्पनीमध्ये ५९ कम्पनीको सेयर मूल्य बढेको छ भने २०३ कम्पनीको घटेको छ । त्यस्तै, १७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
शुक्रबार बैंकिङ र निर्जीवन बिमा समूहबाहेक सबै उपसूचक घटेका छन् । बैंकिङ समूह ०.०७ प्रतिशत र निर्जीवन बिमा समूह ०.३० प्रतिशतले बढेका छन् ।
यस्तै, विकास बैंक समूह ०.७६, वित्त ०.०४, होटल तथा पर्यटन ०.१४, जलविद्युत ०.७४, लगानी ०.४१, जीवन बिमा ०.३०, उत्पादन तथा प्रशोधन ०.६५, लघुवित्त ०.५२, अन्य ०.४४ र व्यापार समूह ०.१७ प्रतिशतले घटेका छन् ।
आज एनआईसी एसिया बैंकको सेयर मूल्य सबैभन्दा धेरै ६.०८ प्रतिशतले बढेको छ । मान्डु हाइड्रोपावरको ४.७६, बेस्ट फाइनान्सको ४.३०, उपकार लघुवित्तको ३.१३ र माथिल्लो मैलुङखोला जलविद्युत कम्पनीको सेयर मूल्य ३.०६ प्रतिशतले बढेको छ ।
यसैगरी, सोपान फर्मास्युटिकल्सको सेयर मूल्य सबैभन्दा धेरै ५.३७ प्रतिशतले घटेको छ । युनिक नेपाल लघुवित्तको ४.६४, बेनी हाइड्रोपावरको ४.२७, भुजुङ हाइड्रोपावरको ४.२१, स्वस्तिक लघुवित्तको ३.९४ र बोटलर्स नेपाल तराईको सेयर मूल्य ३.४९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक, ग्लोबल आईएमई बैंक, हिमालय ऊर्जा विकास कम्पनी, एनआईसी एसिया बैंक, घलेम्दी हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, सानिमा माइ हाइड्रोपावर, एनएमबी बैंक र साहस ऊर्जा अगाडि रहेका छन् ।