एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व अन्त्यका लागि वार्तामा फर्कन तेहरानलाई कुनै निश्चित समयसीमा नतोकिएको बताएका छन् । उनले इरानसँग वार्ता पुनः सुरु गर्न आफू हतारमा नरहेको बताउँदै अमेरिकी आर्थिक तथा सैन्य दबाब प्रभावकारी भइरहेको दाबी गरेका छन् ।
अल जजिरासँग बुधबार कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानलाई वार्तामा फर्कन कति समय दिइएको भन्ने प्रश्नमा आफूले कुनै समयतालिका नबनाएको बताएका हुन् । अमेरिकाले ‘धेरै ठूलो जित’ हासिल गरिरहेको दाबी गर्दै उनले इरानमा बढ्दो मुद्रास्फीति र कमजोर बन्दै गएको अर्थतन्त्रतर्फ संकेत गरे ।
सैन्य आक्रमण वा आर्थिक उपायमध्ये कुन प्रभावकारी भइरहेको छ भन्ने प्रश्नमा ट्रम्पले दुवै उपाय प्रभावकारी रहेको दाबी गरे ।
यसैबीच, कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानी बिहीबार तेहरान पुगेर इरानी अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीका अनुसार प्रधानमन्त्री थानीले तनाव घटाउने तथा वार्ताका लागि अनुकूल वातावरण बनाउने उपायबारे छलफल गर्नेछन् ।
वार्ताका क्रममा हर्मुज जलघाँटीमा जहाज आवागमनको स्वतन्त्रता र फेब्रुअरी २८ अघिको अवस्था पुनःस्थापित गर्नुपर्ने विषयसमेत उठाइने बताइएको छ ।
अमेरिकाले तेहरानविरुद्ध सैन्य अभियान सुरु गरेको करिब छ महिनापछि कतार र पाकिस्तानको सक्रियतामा तनाव कम गर्ने कूटनीतिक प्रयास अघि बढेको हो । यसै क्रममा राष्ट्रपति ट्रम्पले सैन्य कारबाहीमा गम्भीर घाइते भएको भनिएका इरानी सर्वोच्च नेता मोजतबा खामेनी अझै जीवित रहेको आफूलाई विश्वास रहेको बताएका छन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि सहयोगी मुलुकका विदेशमन्त्रीहरूलाई तत्काल इरानविरुद्ध नयाँ सैन्य आक्रमण गर्ने पक्षमा अमेरिका नरहेको जानकारी गराएका छन् । अमेरिकी प्रशासनले अहिले नौसैनिक अवरोध र आर्थिक उपायमार्फत इरानमाथि दबाब बढाउने रणनीति अपनाएको बताइएको छ । यद्यपि तेहरानबाट पहिले आक्रमण भएमा सैन्य विकल्प खुला रहने अमेरिकी अधिकारीहरूले बताएका छन् ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अगस्ट २४ मा ‘अपरेसन इकोनोमिक आउटकास्ट’ सुरु गर्ने घोषणा गरेका थिए । उक्त अभियानमार्फत इरानका वित्तीय सम्बन्ध तोड्ने र इरानी शासनलाई सहयोग पुग्ने राजस्वका स्रोत रोक्ने उद्देश्य राखिएको बताइएको छ ।
कतारको मध्यस्थता प्रयास पाकिस्तानी सेना प्रमुख असीम मुनीरको हालैको तेहरान भ्रमणपछि अघि बढेको हो । उनले हर्मुज जलघाँटी पुनः खोल्ने तथा क्षेत्रीय प्रोक्सीमार्फत हुने आक्रमण रोक्ने प्रतिबद्धताको बदलामा नाकाबन्दी र आर्थिक प्रतिबन्ध हटाउने अमेरिकी प्रस्ताव इरानसमक्ष राखेको बताइएको छ ।
कतार र पाकिस्तान अमेरिका-इरान द्वन्द्व कम गर्ने प्रयासमा प्रमुख मध्यस्थकर्ताका रूपमा सक्रिय छन् । शुक्रबार, अगस्ट २८ मा अमेरिकी सैन्य अभियान सुरु भएको छ महिना पुग्दैछ । यसअघि राष्ट्रपति ट्रम्पले द्वन्द्व चारदेखि छ हप्तासम्म मात्र चल्ने बताएका थिए ।
गत जुनमा अमेरिका र इरानबीच हर्मुज जलघाँटी हुँदै हुने पारवहन, इरानमाथिका प्रतिबन्ध हटाउने तथा तेहरानको आणविक कार्यक्रमलगायत विषयमा वार्ताका लागि ६० दिने समझदारी भएको थियो । उक्त समझदारी यसै महिनाको सुरुमा समाप्त भएको थियो ।