• Menu

‘नाडा अटो सो’को पहिलो दिन कतिले गरे अवलोकन ?

नेपाल प्रफिट

२०८३ भदौ ९, मंगलबार २२:१८

‘नाडा अटो सो’को पहिलो दिन कतिले गरे अवलोकन ?

काठमाडौं । १८औँ संस्करणको नाडा अटो सोको पहिलो दिन मंगलबार नै ३० हजारभन्दा बढीले प्रदर्शनी अवलोकन गरेको आयोजकले जनाएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अनुसार पहिलो दिन नयाँ मोडलका कार, विद्युतीय सवारीसाधन, मोटरसाइकल, स्कुटर तथा बसबारे अवलोकनकर्ताको उल्लेख्य चासो देखिएको हो ।

प्रदर्शनीमा राखिएका नयाँ मोडलका सवारीसाधनसँगै रोबोट र नेपालमै डिजाइन तथा निर्माण गरिएको विद्युतीय स्कुटरले समेत दर्शकको ध्यान खिचेका छन् । विशेषगरी विद्युतीय सवारीसाधनमा उपलब्ध रेन्ज, मूल्य, पावर, चार्जिङ समय र वारेन्टीका विषयमा ग्राहकले कम्पनीका प्रतिनिधिसँग जानकारी लिए ।

यस वर्षको अटो सो मा कम्पनीहरूले सस्तो पारिवारिक सवारीसाधनदेखि २ करोड ३० लाख रुपैयाँसम्मका विलासी गाडी सार्वजनिक गरेका छन् । विभिन्न मूल्य वर्गका सवारी साधनबीच मूल्य, प्रविधि, रेन्ज, पावर, चार्जिङ समय तथा वारेन्टीका आधारमा प्रतिस्पर्धा तीव्र देखिएको छ ।

अटो सो मा नेपालमै डिजाइन तथा निर्माण गरिएको यात्री पी–२ विद्युतीय स्कुटरको उपस्थितिले भने आयातित ब्रान्डबीचको प्रतिस्पर्धासँगै स्वदेशी विद्युतीय सवारीसाधनको सम्भावनालाई समेत चर्चामा ल्याएको छ । पी–२ तीन भेरियन्टमा उपलब्ध छ ।

अटो सोमा विभिन्न कम्पनीले नयाँ मोडल सार्वजनिक गरेका छन् । एमएडब्लू वृद्धि मोटर्सले चिनियाँ सवारी उत्पादक डोङफेङका प्रिमियम विद्युतीय सेडान ईपाइ ००७, एसयूभी एमहिरो १ र अवतार ०७ सार्वजनिक गरेको छ । त्यस्तै, सिप्रदी ट्रेडिङले टाटा सिएरा ईभी सार्वजनिक गरेको छ ।

एसपीजी अटोमोबाइल्सले जेको जे–५ प्रो सार्वजनिक गरेको छ भने एलआरआर मोटर्सले चिनियाँ ब्रान्ड स्काईवेलको बीई ११ विभिन्न मूल्य र ब्याट्री विकल्पसहित बजारमा ल्याएको छ । यसैगरी, सीजी मोटर्सले हिरो एक्स्ट्रिम २५० आरको बिक्री सुरु गरेको छ ।

अटो सो मा २०० भन्दा बढी स्टल राखिएका छन् भने ५३ वटा सवारी साधन ब्रान्ड सहभागी छन् । प्रदर्शनीमा नयाँ सवारीसाधनसँगै अटोमोबाइलसम्बन्धी प्रविधि, उपकरण तथा सेवासमेत राखिएका छन् ।

अटो सोको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गरे । नाडाका अनुसार बुधबारदेखि अटोमोबाइल क्षेत्रसँग सम्बन्धित ज्ञान आदानप्रदान तथा नलेज सेयरिङका कार्यक्रमसमेत सञ्चालन हुनेछन् ।