
पर्सा । उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि २७ वर्षदेखि बन्द रहेको ऐतिहासिक वीरगन्ज चिनी मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन अघि बढाइएको छ।
उद्योग मन्त्रालयद्वारा गठित कार्यदलले मंगलबार वीरगन्ज चिनी मिलको स्थलगत निरीक्षण गर्दै कारखानाका भौतिक संरचना, मेसिनरी तथा उपकरणको अवस्थाबारे प्राविधिक मूल्यांकन गरेको हो।
सिडिई श्रीकान्त यादवको संयोजकत्वमा गठित कार्यदलले कारखानाको वर्तमान अवस्था, उपलब्ध पूर्वाधार तथा पुनः सञ्चालनका लागि आवश्यक सुधार र लगानीलगायतका विषय अध्ययन गर्नेछ ।
कार्यदलले स्थलगत अध्ययन पूरा गरी १५ दिनभित्र सरकारसमक्ष विस्तृत प्रतिवेदन पेस गर्ने जनाएको छ। प्रतिवेदनका आधारमा मिल पुनः सञ्चालन गर्न सकिने अवस्था, आवश्यक लगानी तथा प्राविधिक पक्षबारे निर्णय लिइनेछ ।
लामो समयदेखि बन्द रहेको वीरगन्ज चिनी मिल पुनः सञ्चालनका लागि सरकारले औपचारिक रूपमा सम्भाव्यता अध्ययन अघि बढाएसँगै स्थानीयस्तरमा समेत उत्साह बढेको छ ।
ऐतिहासिक औद्योगिक प्रतिष्ठानका रूपमा रहेको चिनी मिल सञ्चालनमा आएमा रोजगारी सिर्जना, स्थानीय उत्पादनको प्रवर्द्धन तथा औद्योगिक गतिविधि विस्तारमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal