
काभ्रे। जलवायु परिवर्तनका कारण पानीका मुहान तथा स्रोत सुक्दै गएपछि काभ्रेपलाञ्चोकका स्थानीय तह पानी पुनर्भरण तथा मुहान संरक्षणका कार्यक्रम अघि बढाउन थालेका छन्। रोशी गाउँपालिकाले योजनाबद्ध रूपमा काम अघि बढाइसकेको छ भने बेथानचोक गाउँपालिकाले समेत पानीका स्रोतको पहिचानपछि संरक्षण र व्यवस्थापनको योजना बनाउँदैछ।
रोशी गाउँपालिकाले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्दै स्थानीय समुदायको अनुकूलन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ‘एकीकृत अनुकूलन समाधान प्याकेज’को क्षेत्रगत परीक्षण तथा परामर्श सुरु गरेको छ।
हिन्दूकुश हिमालय क्षेत्रका लागि एकीकृत जलवायु अनुकूलन समाधान परियोजनाअन्तर्गत अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र वातावरणीय तथा कृषि नीति अनुसन्धान, विस्तार तथा विकास केन्द्र (सिप्रेड)को संयुक्त आयोजनामा कार्यक्रम अघि बढाइएको हो ।
इसिमोडकी कार्यक्रम अधिकृत सदीक्षा गुरागाईंका अनुसार जलवायु परिवर्तनका जोखिम सम्बोधन गर्न खानेपानी तथा मुहान व्यवस्थापन, पानी पुनर्भरण प्रणाली, नवीकरणीय ऊर्जाको पहुँच तथा कृषि जैविक विविधतालाई एउटै एकीकृत प्रणालीका रूपमा अघि बढाउने अवधारणाअनुसार कार्यक्रम तयार गरिएको हो ।
पहिलो चरणमा रोशी गाउँपालिका-१ स्याउरेटार र वडा नं. २ चण्डीबेसीमा स्थानीय महिला, कृषक तथा समुदायका प्रतिनिधिको सहभागितामा कार्यक्रम सञ्चालन भइरहेको छ। लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणलाई ध्यानमा राख्दै सीमान्तकृत समुदायका आवश्यकता र अनुभवलाई अनुकूलनका उपायमा समेट्ने प्रयास गरिएको छ।
खानेपानीको पहुँच घट्दै गएका क्षेत्रमा मुहान संरक्षणसँगै पानी पुनर्भरणका विधिलाई प्राथमिकता दिइएको छ। जोखिम नक्साङ्कन, पानी बाँडफाँट तथा प्रणालीको आकार निर्धारणजस्ता व्यावहारिक औजारको परीक्षण भइरहेको छ। हाल गाउँपालिकाका दुई वडामा करिब एक हजार ५०० बहुउपयोगी बिरुवासमेत रोपिएको छ।
रोशीमा मुहान तथा जलाधार क्षेत्रको वैज्ञानिक व्यवस्थापनमार्फत खानेपानी र सिँचाइका स्रोत संरक्षण गर्ने योजना पनि अघि बढाइएको छ। हिन्दूकुश हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असर न्यूनीकरण तथा स्थानीय समुदायको उत्थानशीलता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन हुन लागेको एकीकृत जलवायु अनुकूलन समाधान परियोजनाका लागि रोशी गाउँपालिका, इसिमोड र सिप्रेडबीच आशयपत्रमा हस्ताक्षर भइसकेको छ।
आशयपत्रअनुसार मुहान तथा जलाधार संरक्षणसँगै जोखिममा रहेका समुदाय र महिलाको उत्थानका लागि लैङ्गिक उत्तरदायी, समावेशी तथा प्रकृतिमैत्री अनुकूलनका उपाय लागू गरिनेछ।
त्यस्तै, स्वच्छ तथा नवीकरणीय ऊर्जाका प्रविधिको प्रयोग प्रवर्धन, रैथाने बाली तथा कृषि जैविक विविधताको संरक्षण, स्थानीय तथा आदिवासी समुदायको सहभागिता, स्थानीय क्षमता अभिवृद्धि र दिगो जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्ने योजना छ ।
रोशी गाउँपालिकामा करिब २२ प्रतिशत पानीका मुहान तथा जलाधार क्षेत्र सुक्खा रहेको सर्वेक्षण प्रतिवेदनले देखाएको छ।
यसैबीच बेथानचोक गाउँपालिकामा ३६९ वटा पानीका मुहान पहिचान भएका छन् । इसिमोडले गरेको सर्वेक्षणबाट स्थानीयस्तरमा रहेका पानीका स्रोतको अवस्थाबारे महत्वपूर्ण तथ्याङ्क प्राप्त भएको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बताए।
पहिचान भएका मुहानको संरक्षण, उचित व्यवस्थापन तथा दिगो उपयोगका लागि अब थप योजनाबद्ध रूपमा प्रक्रिया अघि बढाइने उनले बताए।
‘जलवायु परिवर्तनका कारण भविष्यमा बढ्दो पानीको संकट न्यूनीकरण गर्न थप संवेदनशील हुनुपर्ने भएकाले अहिले नै मुहान संरक्षण तथा पानी पुनर्भरण सबैको साझा प्रयास आवश्यक छ,’ अध्यक्ष अधिकारीले भने।
काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमध्ये सात तहमा गरिएको सर्वेक्षणले पानीका मूल तथा मुहान क्रमशः सुक्दै गएको देखाएको छ । बाढीपहिरो, वनफँडानी, अव्यवस्थित पूर्वाधार निर्माण, भूकम्प तथा जलवायु परिवर्तनलगायतका कारण पानीका मुहान सुक्दै गएको पाइएको हो ।
सन् २०२४ जुनमा सम्पन्न सर्वेक्षणमा जिल्लाका सात स्थानीय तहमा कुल पाँच हजार ६८९ पानीका स्रोत मापन गरिएको थियो । तीमध्ये पाँच हजार १६८ वटा मूल तथा मुहान र ५२१ वटा पोखरी पहिचान भएका थिए।
सर्वेक्षणअनुसार पहिचान गरिएका कुल स्रोतको २७ प्रतिशत अर्थात् एक हजार ५२१ वटा स्रोत सुक्खा अवस्थामा रहेको पाइएको छ।
पानीका स्रोत सुक्दै गएपछि स्थानीय तहले मुहान संरक्षण, जलाधार व्यवस्थापन र पानी पुनर्भरणलाई प्राथमिकतामा राख्न थालेका छन्। जलवायु परिवर्तनका कारण भविष्यमा पानीको संकट थप गहिरिन सक्ने भएकाले संरक्षणका कार्यक्रमलाई समुदायको सहभागितासँग जोडेर अघि बढाउनुपर्नेमा स्थानीय तह र सरोकारवालाले जोड दिएका छन्।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal