• Menu

३५ वर्षदेखि इस्कुसखेतीमा शङ्खरापुरका किसान, मुन्टादेखि जरासम्म बेचेर मनग्गे आम्दानी

नेपाल प्रफिट

२०८३ भदौ ९, मंगलबार १७:४६

३५ वर्षदेखि इस्कुसखेतीमा शङ्खरापुरका किसान, मुन्टादेखि जरासम्म बेचेर मनग्गे आम्दानी

काठमाडौं । शङ्खरापुर नगरपालिका-८ घुमारचोक र वडा नं. ४ लप्सेका किसान विगत ३५ वर्षदेखि इस्कुसखेतीमा रमाउँदै आएका छन्। इस्कुसको मुन्टादेखि जरा (तरुल) सम्म बिक्री गरेर आम्दानी गर्न सकिने भएपछि यहाँका किसान पुस्तौँदेखि यस खेतीमा निर्भर छन्।

कुनै समय जीवन गुजाराका लागि दाउरा बेच्नुपर्ने अवस्था रहेका यहाँका किसानको जीवन इस्कुसखेती सुरु गरेपछि परिवर्तन भएको स्थानीय बताउँछन् । अहिले जेठदेखि मङ्सिरसम्म इस्कुसबाट नियमित आम्दानी हुने भएकाले अधिकांश परिवारको घरखर्च, चाडपर्व र दैनिक आवश्यकता यही खेतीसँग जोडिएको छ।

किसानले सिजनमा इस्कुसको मुन्टा प्रतिकिलो १०० देखि १५० रुपैयाँसम्म, जरा अर्थात् तरुल प्रतिकिलो १५० देखि २०० रुपैयाँसम्म र इस्कुस प्रतिकिलो ३५ देखि ५० रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन् ।

उत्पादित इस्कुस तथा अन्य तरकारी बिक्री गर्न किसानले बजारसम्म धाउनुपर्दैन। व्यापारीहरू ढक-तराजु बोकेर गाउँमै पुग्ने र किसानको घर तथा बारीबाटै उत्पादन खरिद गर्ने गरेका छन्। सडकको पहुँच बारीसम्म विस्तार भएपछि व्यापारीलाई उत्पादन उठाउन सहज भएको किसान बताउँछन् ।

घुमारचोकका भिराला बस्ती तथा लप्सेका घर-गोठ वरिपरि अहिले इस्कुसका ठूला झ्याङ देखिन्छन्। टाढाबाट हेर्दा यहाँका बारी इस्कुसका हरिया बगानले ढाकिएका देखिन्छन् ।

जेठदेखि उत्पादन सुरु हुने इस्कुस मङ्सिरसम्म फल्ने भएकाले करिब छ महिना किसानको दैनिकी इस्कुस टिप्ने, जोख्ने, प्याकिङ गर्ने र बिक्री गर्ने काममै बित्ने गरेको छ ।

शङ्खरापुर-४ लप्से थाङसाङ डाँडाका कृषक सञ्चमान घ्लानले इस्कुसखेती गर्न थालेको ३५ वर्षभन्दा बढी भएको बताए। पाँच रोपनी जग्गामा इस्कुसखेती गर्दै आएका उनले वार्षिक करिब पाँच लाख रुपैयाँ आम्दानी गर्ने गरेका छन् ।

लप्सेकै अर्का किसान बुद्धिबहादुर घ्लानले छ रोपनी जमिनमा इस्कुसखेती गरेका छन् । उनको परिवारका सबै सदस्य खेतीमै संलग्न छन्। इस्कुसखेतीबाट आफू सन्तुष्ट रहेको उनले बताए ।

घुमारचोकका स्थानीय विकास थिङका अनुसार यहाँका किसानले इस्कुस बिक्रीबाट न्यूनतम एक लाखदेखि बढीमा ६ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । घुमारचोक र लप्सेमा उत्पादन भएको इस्कुस काठमाडौंका विभिन्न तरकारी बजारमा पुग्ने गरेको छ ।

यहाँका अधिकांश तामाङ परिवार इस्कुसखेतीमा आबद्ध छन् । किसानले इस्कुससँगै काँक्रो, सिमी, आलुलगायतका तरकारी पनि उत्पादन गर्दै आएका छन् । नियमित रूपमा लामो समयसम्म आम्दानी हुने भएकाले जग्गा भएका अधिकांश परिवार इस्कुसखेतीमा जोडिएको स्थानीयको भनाइ छ।

एकैपटक ठूलो रकम हात पर्नेभन्दा लामो समयसम्म थोरै-थोरै आम्दानी भइरहने भएकाले घरायसी अर्थतन्त्र सञ्चालन गर्न इस्कुसखेती सहज बनेको किसानको अनुभव छ ।

किसान मानबहादुर वाइवाले झन्डै पाँच रोपनी जग्गामा इस्कुसखेती गरेका छन् । विगतमा राम्रो आम्दानी भए पनि यस वर्ष समयमै थाँक्रो दिन नसक्दा उत्पादन प्रभावित भएको उनले बताए। उनले यस वर्ष करिब पाँच लाख रुपैयाँ बराबरको इस्कुस बिक्री गरेका छन् ।

घुमारचोकका म्याङ्गाई घ्लानले पनि पाँच रोपनीमा इस्कुसखेती गरेका छन्। उनले करिब ५० हजार रुपैयाँ लगानी गरेर एक लाख ९५ हजार रुपैयाँ आम्दानी गरेको बताए ।

घुमारचोक र लप्सेसँगै डाँडाकटेरी, कालीमेल, रैले, जहरसिंहपौवा लगायतका क्षेत्रमा पनि इस्कुसखेती हुँदै आएको छ ।

इस्कुसखेतीलाई व्यावसायिक रूपमा विस्तार गर्न शङ्खरापुर नगरपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । नगरप्रमुख रमेश नापितका अनुसार इस्कुसखेतीमा आबद्ध किसानलाई आवश्यक मचान निर्माणका लागि नगरपालिकाले अनुदान उपलब्ध गराउँदै आएको छ।

इस्कुसलाई थाँक्रो दिन आवश्यक मचान निर्माणमा प्रयोग हुने सिमेन्ट, बालुवा र रडको लागतमा किसान र नगरपालिकाले ५०-५० प्रतिशत व्यहोर्ने व्यवस्था गरिएको नगरप्रमुख नापितले बताए ।

स्थानीय सडकको विस्तार, बजारमा सहज पहुँच र नगरपालिकाको सहयोगका कारण घुमारचोक तथा लप्सेमा इस्कुसखेती अझ व्यावसायिक बन्दै गएको छ। किसानका लागि इस्कुस अहिले सामान्य तरकारीभन्दा बढी, वर्षभरको घरखर्च धान्ने भरपर्दो आम्दानीको आधार बनेको छ ।