• Menu

करिब १२ करोड डलरको इरानी पेट्रोलियम आयात गरेको दाबी, अमेरिकी प्रतिबन्धमा परे पोर्टेज र सदाशिवसहित ४ कम्पनी

नेपाल प्रफिट

२०८३ भदौ ९, मंगलबार १७:३५

करिब १२ करोड डलरको इरानी पेट्रोलियम आयात गरेको दाबी, अमेरिकी प्रतिबन्धमा परे पोर्टेज र सदाशिवसहित ४ कम्पनी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम तथा पेट्रोकेमिकल व्यापारसँग सम्बन्ध रहेको आरोपमा भारतमा आधारित चार कम्पनीमाथि प्रतिबन्ध लगाएको छ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार ‘अपरेसन इकोनोमिक आउटकास्ट’ अन्तर्गत इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा पेट्रोलियम कारोबारलाई लक्षित गर्दै ती कम्पनीमाथि कारबाही गरिएको हो ।

प्रतिबन्धमा पोर्टेज पार्टनर एलएलपी, सदाशिव ओभरसिज लिमिटेड, पिपि सफ्टटेक प्राइभेट लिमिटेड र प्राक्रुटिस इन्फ्रा इम्पेक्स इन्डिया प्राइभेट लिमिटेड परेका छन् ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार पोर्टेज पार्टनरले भारतमा इरानी पेट्रोकेमिकल उत्पादनको ढुवानी तथा आयातमा सहजीकरण गरेको थियो । कम्पनीका साझेदार भारतीय नागरिक इन्ड्रिस्मिया आशारफ्मिया सेख र हरिश रामचन्द्र रङ्गीलाई समेत प्रतिबन्ध लगाइएको छ ।

त्यस्तै, सदाशिव ओभरिजले सन् २०२४ फेब्रुअरीदेखि २०२५ जुनसम्म अमेरिकी प्रतिबन्धमा परिसकेको बोन्जोर कमोडिटी एफजेडईसहित विभिन्न कम्पनीबाट करिब ६ करोड ९० लाख अमेरिकी डलर मूल्य बराबरका इरानी मूलका पेट्रोलियम उत्पादन आयात गरेको अमेरिकी दाबी छ ।

इरानी पेट्रोलियमको खरिद, बिक्री, ढुवानी वा बजारीकरणमा महत्वपूर्ण कारोबार गरेको आरोपमा उक्त कम्पनीमाथि कार्यकारी आदेश १३८४६ अन्तर्गत प्रतिबन्ध लगाइएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

पिपि सफ्टटेकले सन् २०२४ जनवरीदेखि २०२५ जुनसम्म करिब दुई करोड ५० लाख अमेरिकी डलर मूल्य बराबरका इरानी मूलका पेट्रोलियम उत्पादन आयात गरेको मन्त्रालयको दाबी छ। कम्पनीका निर्देशक भारतीय नागरिक प्रशान्त गर्गलाई समेत प्रतिबन्ध सूचीमा राखिएको छ ।

यसैगरी, प्राक्रुटिस इन्फ्रा इम्पेक्सले सन् २०२३ मेदेखि २०२६ फेब्रुअरीसम्म बोन्जोर कमोडिटी एफजेडईसहित विभिन्न कम्पनीबाट करिब दुई करोड ५० लाख अमेरिकी डलर मूल्यका इरानी मूलका पेट्रोलियम उत्पादन आयात गरेको अमेरिकी पक्षको दाबी छ ।

अमेरिकाले पछिल्लो प्रतिबन्धलाई इरानको पेट्रोलियमबाट हुने आम्दानी रोक्ने तथा इरानी सैन्य र खरिद गतिविधिलाई सहयोग गरेको आरोप लागेका अन्तर्राष्ट्रिय सञ्जाल कमजोर बनाउने अभियानको हिस्सा भएको जनाएको छ ।

प्रतिबन्धमा परेका भारतीय कम्पनी तथा सम्बन्धित व्यक्तिहरूले अमेरिकी कारबाहीबारे तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् ।