• Menu

जगदम्बा मोटर्सद्वारा वीरगन्जमा ‘अल न्यू प्रोटोन इमास ५’ सार्वजनिक, मूल्य ३२ लाख ९९ हजारबाट सुरु

नेपाल प्रफिट

२०८३ भदौ ७, आइतबार १६:३०

जगदम्बा मोटर्सद्वारा वीरगन्जमा ‘अल न्यू प्रोटोन इमास ५’ सार्वजनिक, मूल्य ३२ लाख ९९ हजारबाट सुरु

पर्सा । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले मधेश प्रदेशको प्रमुख व्यापारिक सहर वीरगन्जमा नयाँ आधिकारिक सोरुम सञ्चालनमा ल्याउँदै ‘अल न्यू प्रोटोन इमास ५’ सार्वजनिक गरेको छ ।

नयाँ सोरुम सञ्चालनमा आएसँगै नेपालभर प्रोटोनका आधिकारिक बिक्री केन्द्रको संख्या ११ पुगेको कम्पनीले जनाएको छ। प्रोटोनको नेपालमा दोस्रो विद्युतीय गाडीका रूपमा इमास ५ प्रस्तुत गरिएको हो ।

सहरी जीवनशैली र दैनिक यात्रालाई सहज, स्मार्ट तथा आधुनिक बनाउने उद्देश्यले इमास ५ ल्याइएको कम्पनीको भनाइ छ। कम्पनीले पूर्वी नेपालको बिर्तामोडमा दशैंअघि नयाँ सोरुम सञ्चालन गर्ने तयारीसमेत गरेको छ। बिर्तामोडमा सोरुम सञ्चालनमा आएपछि नेपालभर प्रोटोनका आधिकारिक बिक्री केन्द्रको संख्या १२ पुग्नेछ ।

मलेसियामा आयोजित प्रतिष्ठित ‘मलेसियन कार अफ द इयर २०२५’ अन्तर्गत ‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२५’ को उपाधि जितेको इमास ५ अत्याधुनिक प्रविधि, स्मार्ट सुविधा र आकर्षक डिजाइनको संयोजनका रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।

इमास ५ मा १४.६ इन्चको स्पर्शयुक्त सूचना तथा मनोरञ्जन प्रणाली, ताररहित एप्पल कारप्ले तथा एन्ड्रोइड अटो सुविधा उपलब्ध छन्। त्यस्तै, ७० लिटर क्षमताको अगाडिको सामान राख्ने स्थान, ३७५ लिटरसम्म विस्तार गर्न सकिने पछाडिको सामान राख्ने स्थान तथा ३२ वटा भण्डारण खण्ड रहेका छन् ।

वीरगन्जमा आयोजित सोरुम उद्घाटन तथा गाडी सार्वजनिक कार्यक्रममा वीरगन्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलम, व्यवसायिक साझेदार, सञ्चारकर्मी, अटो पत्रकार तथा अन्य विशिष्ट व्यक्तिको सहभागिता थियो । कार्यक्रममा देखिएको उत्साहले बीरगञ्ज तथा आसपासका क्षेत्रमा विद्युतीय सवारीप्रति आकर्षण बढ्दै गएको संकेत गरेको कम्पनीको भनाइ छ ।

कार्यक्रममा जगदम्बा मोटर्सका वरिष्ठ महाप्रबन्धक सुशील क्षेत्रीले मधेश प्रदेशको प्रमुख व्यापारिक सहर बीरगञ्जका ग्राहकलाई लक्षित गर्दै इमास ५ सार्वजनिक गर्न पाउँदा उत्साहित भएको बताए ।

उनले आधुनिक प्रविधि, सुरक्षा, व्यावहारिक उपयोगिता र आकर्षक मूल्यका कारण इमास ५ यस क्षेत्रका ग्राहकको रोजाइमा पर्ने विश्वास व्यक्त गरे। भक्तपुरबाट सुरु भएको इमास ५ को क्षेत्रीय सार्वजनिक अभियान धनगढी हुँदै वीरगन्जसम्म आइपुगेको र नेपालभरका ११ वटा प्रोटोन बिक्री केन्द्रमार्फत गाडीलाई ग्राहकसम्म पुर्‍याइएको उनले बताए ।

इमास ५ प्रति नेपाली ग्राहकले देखाएको उत्साह, प्राप्त बुकिङ तथा प्रोटोन ब्रान्डप्रति व्यक्त विश्वासप्रति आभार व्यक्त गर्दै क्षेत्रीले आगामी दिनमा ग्राहकको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर उत्पादन, सेवा तथा ग्राहक अनुभवलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाए ।

इमास ५ प्राइम र प्रिमियम गरी दुई प्रकारमा उपलब्ध छ। बीरगन्जमा आयोजित सार्वजनिक कार्यक्रममा प्राइमको विशेष सुरुवाती मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तथा प्रिमियमको विशेष सुरुवाती मूल्य ३६ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

अब इच्छुक ग्राहकले वीरगन्ज बाइपास रोडस्थित प्रोटोनको नयाँ आधिकारिक सोरुममा पुगेर इमास ५ र इमास ७ को अवलोकन तथा परीक्षण यात्रा गर्न सक्नेछन् । सोरुमबाट गाडीका प्रविधि, सुविधा, डिजाइन तथा सञ्चालनसम्बन्धी जानकारीसमेत लिन सकिने कम्पनीले जनाएको छ ।

नेपालभर प्रोटोनको उपस्थिति विस्तार गर्दै क्षेत्रीय बजारमा विद्युतीय सवारीको पहुँच बढाउने अभियानअन्तर्गत वीरगन्जमा नयाँ सोरुम सञ्चालनलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । कम्पनीले आगामी दिनमा बिर्तामोडमा समेत सोरुम सञ्चालन गरी नेपालभर प्रोटोनका आधिकारिक बिक्री केन्द्रको संख्या १२ पुर्‍याउने लक्ष्य राखेको छ ।