
काभ्रे । एघार वर्ष पूरा हुँदासमेत तेमाल बृहत् खानेपानी आयोजना निर्माण सम्पन्न हुन सकेको छैन। २०७२ साल असारमा सम्झौता भएको आयोजना २०७८ मंसिरमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर कोभिड-१९ महामारी, प्राकृतिक विपद्, बजेट अभाव र निर्माण कम्पनीलाई भुक्तानी नहुँदा आयोजना पाँच वर्षभन्दा बढी समय लम्बिएको छ।
तेमाल क्षेत्रका करिब ५५ हजार स्थानीयलाई ६ वर्षभित्र घरघरमा स्वच्छ खानेपानी पुर्याउने लक्ष्य राखिएको भए पनि आयोजना अझै पूर्ण रूपमा सम्पन्न नहुँदा स्थानीय निराश छन्।
उपभोक्ता समितिका अध्यक्ष सङ्ग्रामजित लामाले बजेट अभावका कारण लिफ्टिङ प्रविधिमा आधारित आयोजना सम्पन्न हुन नसकेको बताए । उनका अनुसार कोरोना महामारी र प्राकृतिक विपद्का कारण तोकिएको समयमै काम पूरा गर्न सकिएन।
‘कालिका-सिएबी जेभी’ले आयोजनाको निर्माण ठेक्का लिएको थियो। निर्माण कम्पनीले गत आर्थिक वर्षमा खानेपानी मन्त्रालयबाट करिब पाँच करोड रुपैयाँ भुक्तानी नपाएको भन्दै काममा ढिलाइ गरेको अध्यक्ष लामाले बताए ।
आयोजनाका विभिन्न संरचनामा समेत प्राकृतिक विपद्का कारण क्षति पुगेको छ। तेमालका वडा नं. ५, २ र ९ मा सडक तथा अन्य भौतिक पूर्वाधार निर्माणका क्रममा आयोजनामा क्षति पुगेको छ भने मुख्य मुहान क्षेत्रमा पानीको स्रोत संरक्षणको काम भइरहेको छ।
२०८१ साल असोजमा आएको बाढीपहिरोले पाइपलाइन, विद्युतका ट्रान्सफर्मर तथा खम्बामा क्षति पुर्याएपछि ती संरचनाको पुनर्निर्माण अझै बाँकी छ। सुनकोशी नदीमा आएको बाढीले आयोजनाको मुख्य मुहानमा समेत क्षति पुर्याएको थियो।
अध्यक्ष लामाका अनुसार आयोजनाको करिब ९९ प्रतिशत काम पूरा भइसकेको छ। अहिले क्षतिग्रस्त संरचना पुनर्निर्माण, मुहान संरक्षण र पानी प्रशोधनको काम भइरहेको छ। हालसम्म तीन हजार उपभोक्ताको घरमा पानी पुर्याइसकिएको छ।
आयोजनाअन्तर्गत २३ वटा ट्यांकीमा पानी परीक्षण भइसकेको छ। मुख्य तथा शाखा पाइपलाइन बिछ्याउने र घरघरमा धारा जडानका सामग्री वितरण गर्ने काम भइरहेको छ। प्रशोधन केन्द्रदेखि वितरण ट्यांकीसम्मको पाइपमा पनि पानी परीक्षण सम्पन्न भएको छ।
आयोजनाबाट नमोबुद्ध नगरपालिका-५ कोटतेमाल र कालीमाटीका करिब ९०० घर तथा रोशी गाउँपालिका-७ कटुञ्जेका ११० घरपरिवार लाभान्वित हुनेछन्। तेमाल गाउँपालिकाका नौ वटै वडा, नमोबुद्ध नगरपालिकाका वडा नं. ३, ४ र ५ तथा रोशी गाउँपालिका-७ का बासिन्दाले खानेपानी पाउने गरी आयोजना निर्माण गरिएको हो।
तेमाल क्षेत्रका नौ हजार ३१० परिवारका करिब ५५ हजार स्थानीयलाई खानेपानी उपलब्ध गराउने लक्ष्यसहित आयोजना अघि बढाइएको हो । मुख्य पाइपलाइनअन्तर्गत ५० किलोमिटर पाइप उपभोक्ताले खाल्डो खनेर बिछ्याउने सम्झौताअनुसार काम भएको छ। आयोजनाका लागि उपभोक्ताबाट करिब पाँच करोड रुपैयाँ बराबरको जनश्रमदानसमेत भएको अध्यक्ष लामाले बताए ।
याङ्बेल डाँडामा चार लाख लिटर क्षमताका दुई मुख्य ट्यांकी निर्माण गरिएका छन्। आयोजनामा छुटेका केही निर्माण कार्य पूरा गर्न संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट २०८१ साल पुसमा १० करोड ३४ लाख ४१ हजार रुपैयाँ उपलब्ध भएपछि थप काम अघि बढाइएको थियो।
तर आयोजना सम्पन्न गरी औपचारिक रूपमा हस्तान्तरण गर्न आयोजना पक्ष र ठेकेदारले बेवास्ता गरेको स्थानीयको आरोप छ। आयोजना पूर्ण रूपमा सम्पन्न गर्न अझै करिब ४६ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।
लिफ्टिङ प्रविधिमा आधारित आयोजनाको मुख्य मुहान सुनकोशी नदीकिनारमा रहेको छ। सुनकोशी नदीबाट करिब १२ किलोमिटरको उचाइमा पानी लिफ्ट गरी तेमाल क्षेत्रमा पुर्याउने संरचना निर्माण भइसकेको छ।
नेपाल सरकार, खानेपानी विभागमार्फत एक अर्ब २७ करोड रुपैयाँ, गाउँपालिकाको एक प्रतिशत योगदान र स्थानीय उपभोक्ताको नौ प्रतिशत जनश्रमदानमा आयोजना सञ्चालन गरिएको हो। २०८१ साल असोजको बाढीपहिरोले आयोजनामा ६० लाख रुपैयाँभन्दा बढीको प्रत्यक्ष क्षति पुर्याएको थियो भने करोडौँ रुपैयाँका संरचना जोखिममा परेका थिए।
आयोजना निर्माणमा भएको ढिलाइ अन्त्य गरी बाँकी संरचना पुनर्निर्माण, बजेट व्यवस्थापन र निर्माण कम्पनीलाई भुक्तानीको विषय तत्काल समाधान गर्नुपर्ने स्थानीयको माग छ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal