• Menu

३ वर्षमा सक्ने सम्झौता, १० वर्षमा पनि बनेन बाक्सिलाको विद्युत सवस्टेसन

नेपाल प्रफिट

२०८३ भदौ २, मंगलबार १७:५८

३ वर्षमा सक्ने सम्झौता, १० वर्षमा पनि बनेन बाक्सिलाको विद्युत सवस्टेसन

खोटाङ । खोटाङको उत्तरी क्षेत्रका स्थानीयवासीलाई गुणस्तरीय विद्युत सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण थालिएको बाक्सिलास्थित विद्युत सवस्टेसन १० वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन।

केपिलासगढी गाउँपालिका-४ बाक्सिलाको सिम्पानीमा नेपाल विद्युत प्राधिकरणले २०७३ साल भदौमा सवस्टेसन निर्माण सुरु गरेको थियो। तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी भारतीय ठेकेदार कम्पनी एटुजेड इन्फ्रा इञ्जिनियरिङ लिमिटेडसँग सम्झौता भए पनि सम्झौताअनुसार २०७६ साल मै सकिनुपर्ने आयोजना अझै अधुरै छ।

निर्माणस्थलमा सवस्टेसनका लागि आवश्यक विद्युतीय उपकरण ल्याइए पनि खुला चौरमा जथाभावी राखिएका कारण कतिपय उपकरण टुटफुट भएर काम नलाग्ने अवस्थामा पुगेका छन्। सवस्टेसनको आवासीय भवन र नियन्त्रण कक्षसमेत निर्माण पूरा हुन सकेको छैन।

स्थानीयवासी एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का युवा नेता माइतीराज राईका अनुसार निर्माणस्थलमा कतिपय संरचनाका खम्बा मात्रै ठड्याएर ठेकेदार कम्पनी सम्पर्कविहीन भएको छ। ठेकेदार कम्पनीले बुइपा-बाक्सिला ३३ केभी र ११ केभी प्रसारण लाइनको काम पूरा गरे पनि ट्रान्सफर्मर जडान र सवस्टेसन निर्माणको बाँकी काम अघि बढाएको छैन।

केपिलासगढी गाउँपालिकाका अध्यक्ष समीर राईले सवस्टेसनको बाँकी काम पूरा गर्न पटकपटक विद्युत प्राधिकरणलाई जानकारी गराउँदा पनि सुनुवाइ नभएको बताए।

‘सवस्टेसनमा जडान गर्न विराटनगरमा खरिद गरेर राखिएका ट्रान्सफर्मरसमेत निर्माणस्थलमा लगिएको छैन। निर्माणस्थलमा ल्याइएका उपकरण पनि काम नलाग्ने भइसकेका छन्,’ उनले भने, ‘विद्युत प्राधिकरणलाई पटकपटक जानकारी गराउँदा पनि ध्यान दिइएको छैन। यसको मार उपभोक्ताले खेप्नु परिरहेको छ।’

केपिलासगढी र ऐसेलुखर्क गाउँपालिका तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उत्तरी क्षेत्रका उपभोक्तालाई लक्षित गरी सवस्टेसन निर्माण सुरु गरिएको थियो। बाँकी सबै काम सम्पन्न हुँदा आयोजनाको कुल लागत करिब ११ करोड रुपैयाँ पुग्ने प्राधिकरणले जनाएको छ।

पटकपटक पेटी ठेकेदार परिवर्तन हुँदा निर्माणले गति लिन नसकेको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख धनराज विष्टले बताए। उनका अनुसार ठेकेदार कम्पनीले नियमित रूपमा काम गरेमा बाँकी निर्माण धेरै समय नलाग्ने भए पनि हाल कम्पनी काम गर्ने अवस्थामा छैन।

‘सिम्पानीमा निर्माणाधीन सवस्टेसन जसरी भए पनि सञ्चालनमा ल्याउनुपर्ने अवस्था छ,’ विष्टले भने, ‘उत्तरी क्षेत्रका दुई स्थानीय तहमा बुइपा सवस्टेसनबाट विद्युत विस्तार गरिएको छ। लामो दूरी भएकाले पटकपटक विद्युत् अवरुद्ध हुने गरेको छ।’

प्राधिकरणले काम नगर्ने ठेकेदार कम्पनीसँगको सम्झौता तोडेर अर्को ठेक्कामार्फत भए पनि सवस्टेसन सञ्चालनमा ल्याउने तयारी गरिरहेको उनले जानकारी दिए।

स्थानीयका अनुसार ठेकेदार कम्पनीले निर्माण सामग्री तथा कामदारको रकमसमेत समयमा भुक्तानी नगर्दा निर्माण प्रभावित भएको हो। सवस्टेसनको काम अलपत्र छाडेर सम्पर्कविहीन भएका ठेकेदारसँग सम्पर्क गर्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ।

सम्झौताको अवधिमा सवस्टेसनलगायत भौतिक संरचना निर्माण हुन नसकेपछि प्राधिकरणका कर्मचारीसँगको मिलेमतोमा विभिन्न संशोधन गर्दै पटकपटक म्याद थप गरिएको आरोपसमेत लागेको छ। ठेकेदार कम्पनीले म्याद थप गराएपछि पुनः सम्पर्कविहीन हुने गरेको जनाइएको छ।

सवस्टेसन सञ्चालनमा नआउँदा उत्तरी खोटाङका उपभोक्ताले नियमित र भरपर्दो विद्युत सेवा पाउन सकेका छैनन्। बुइपा सवस्टेसनबाट लामो दूरी हुँदै विद्युत वितरण गरिँदा वर्षा, हावाहुरी तथा चट्याङका समयमा लामो समयसम्म विद्युत अवरुद्ध हुने गरेको उपभोक्ताको गुनासो छ।

विद्युत प्राधिकरणका अनुसार भारतीय ठेकेदार कम्पनी एटुजेड इन्फ्रा इञ्जिनियरिङ लिमिटेडले देशभर २२ स्थानमा सवस्टेसन निर्माणको ठेक्का लिएको थियो । अधिकांश स्थानमा काम पूरा नगरेको भन्दै कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गर्ने तयारीसमेत भइरहेको प्राधिकरणले जनाएको छ ।