• Menu

१० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

नेपाल प्रफिट

२०८३ भदौ २, मंगलबार १२:०८

१० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

धनुषा । धनुषाको सबैला नगरपालिका–११ का ५७ परिवारले नापजाँच भएको करिब १० वर्षपछि जग्गाधनी पुर्जा प्राप्त गरेका छन्।

नापी कार्यालय धनुषाले साविक मखनाहा गाउँ विकास समिति वडा नं. ६, ७, ८ र ९ अन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको नापजाँच सम्पन्न भएको करिब एक दशकपछि जग्गाधनी पुर्जा वितरण गरेको हो।

उक्त जग्गाको नापजाँच आर्थिक वर्ष २०७२/७३ मै सम्पन्न भएको थियो। नापजाँच सकिए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समयदेखि रोकिएको थियो।

विगतमा सम्बन्धित आयोगबाट नापनक्सा भइसकेका जग्गाको आवश्यक प्रक्रिया पूरा गरी ५७ थान जग्गाधनी पुर्जा वितरण गरिएको नापी कार्यालयले जनाएको छ।

लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारले पुर्जा प्राप्त गरेसँगै आफ्नो जग्गाको औपचारिक कानुनी स्वामित्व पाएका छन्। जग्गाधनी पुर्जा प्राप्त भएपछि स्थानीयवासीले जग्गाको स्वामित्व सुनिश्चित हुनुका साथै भविष्यमा जग्गासम्बन्धी कारोबार तथा अन्य कानुनी प्रक्रिया पूरा गर्न सहज हुने अपेक्षा गरेका छन्।