• Menu

२७ वर्षदेखि बाजुराका दुई प्रमुख सडक अलपत्र, बजेट फ्रिज, ५० प्रतिशत मात्रै काम

नेपाल प्रफिट

२०८३ भदौ २, मंगलबार १८:०२

२७ वर्षदेखि बाजुराका दुई प्रमुख सडक अलपत्र, बजेट फ्रिज, ५० प्रतिशत मात्रै काम

बाजुरा । बाजुराका दुई महत्वपूर्ण सडक निर्माण सुरु भएको २७ वर्ष बितिसक्दा पनि पूरा हुन सकेका छैनन्। मार्तडी-कोल्टी र खप्तड-जयबागेश्वरी-गैरीखाद-डोगडी-आटीचौर हुँदै मार्तडी जोड्ने सडक लामो समयदेखि निर्माणको चक्रमा अल्झिएका छन्।

प्रदेश गौरवका आयोजनाका रूपमा रहेका यी सडकमा निर्माण व्यवसायीले समयमै काम नगर्दा आयोजना अलपत्र परेको हो। सडक निर्माण तथा स्तरोन्नतिका लागि हरेक वर्ष बजेट विनियोजन हुँदै आए पनि काममा ढिलाइ हुँदा विनियोजित रकम पूर्ण रूपमा खर्च हुन सकेको छैन।

पूर्वाधार विकास कार्यालय, अछामका अनुसार आर्थिक वर्ष २०८२/८३ मा विनियोजन भएकोमध्ये ३३ करोड रुपैयाँ खर्च हुन नसकी फिर्ता गएको छ। कार्यालयका प्रमुख जङ्गबहादुर थापाका अनुसार मार्तडी-कोल्टी सडकका लागि विनियोजित २० करोड र खप्तड-जयबागेश्वरी-गैरीखाद-डोगडी-आटीचौर हुँदै मार्तडी जोड्ने सडकका लागि विनियोजित १३ करोड ५० लाख रुपैयाँ काम नभई फिर्ता भएको हो।

मार्तडी-कोल्टी सडक निर्माणको जिम्मा बानियाँ निर्माण सेवाले पाएको थियो। प्रमुख थापाले ठेकेदारको ढिलासुस्तीका कारण अघिल्ला वर्षमा पनि सडकका लागि विनियोजित रकम फिर्ता हुने गरेको बताए।

आर्थिक वर्ष २०८१/८२ मा मार्तडी-कोल्टी सडकका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

त्यस्तै, खप्तड-जयबागेश्वरी-गैरीखाद-डोगडी-आटीचौर हुँदै मार्तडी जोड्ने सडकका लागि १६ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको थियो। २०७८ चैत १६ गते के.एस.एम.के.बि.सी-तेज जेभी, धनगढीसँग ठेक्का सम्झौता भएको उक्त आयोजनामा आर्थिक वर्षभरिमा करिब २ करोड ५० लाख रुपैयाँ बराबरको मात्र काम भएको कार्यालयले जनाएको छ। काम हुन नसकेपछि बाँकी रकम फिर्ता भएको हो ।

तीन वर्षमा सक्ने सम्झौता, अझै अधुरै

मार्तडी-कोल्टी सडकअन्तर्गत चुथीदेखि कोल्टीसम्मको २६ किलोमिटर सडक कालोपत्र गर्न २०७७ असारमा ठेक्का सम्झौता भएको थियो। पीएस बानियाँ निर्माण सेवाले ५० करोड १७ लाख रुपैयाँमा ठेक्का पाएको थियो। तीन वर्षभित्र काम सम्पन्न गर्ने सम्झौता भए पनि निर्धारित समयमै काम पूरा हुन सकेन।

मार्तडी-कोल्टी र खप्तड-डोगडी-मार्तडी सडकको कुल लम्बाइ ४१ किलोमिटर रहेको छ। उक्त सडक निर्माणका लागि करिब ९८ करोड रुपैयाँ लागतमा ठेक्का आह्वान गरिएको थियो । हालसम्म करिब ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ।

४१ किलोमिटरमध्ये मार्तडीदेखि ढम्कनेसम्मको खण्ड १५ किलोमिटर रहेको छ। उक्त १५ किलोमिटर सडक कालोपत्रका लागि ५८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

पहिलो खण्डअन्तर्गत मार्तडीदेखि चुथीसम्मको नौ किलोमिटर सडकमा अधिकांश काम सम्पन्न भए पनि चुथीदेखि ढम्कनेसम्मको करिब छ किलोमिटर सडक कालोपत्र गर्ने काम अझै अधुरो छ।

लामो समयदेखि निर्माणाधीन सडक पूरा नहुँदा बाजुरावासीले सहज यातायातको सुविधा पाउन सकेका छैनन्। हरेक वर्ष बजेट विनियोजन भए पनि कामको गति सुस्त हुँदा सरकारी स्रोतको प्रभावकारी उपयोग हुन नसकेको स्थानीयको गुनासो छ।