• Menu

नाइमा एक्स्पो : अवलोकनकर्ता तान्न बैंकहरूको विशेष अफर

नेपाल प्रफिट

२०८३ साउन २८, बिहीबार १८:२१

नाइमा एक्स्पो : अवलोकनकर्ता तान्न बैंकहरूको विशेष अफर

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सहभागी बैंकहरूले सवारीसाधन खरिदका लागि आकर्षक ब्याजदर र कर्जा सुविधा उपलब्ध गराएका छन् । एक्स्पो आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)सँग साझेदारी गरेका बैंकहरूले मेलास्थलमै ग्राहकलाई अटो लोनसम्बन्धी सेवा दिइरहेका छन् ।

एक्स्पोका को-स्पोन्सर ग्लोबल आइएमई बैंक तथा बैंकिङ पार्टनर सिद्धार्थ बैंक र एनएमबी बैंकले विशेष योजनासहित कर्जा सुविधा उपलब्ध गराएका हुन् । आफूलाई मन परेको सवारीसाधन छनोट गरेपछि अवलोकनकर्ताले बैंकका स्टलमा पुगेर कर्जाका लागि नाम दर्ता गराउने तथा आवेदन दिने गरेका छन् ।

बैंकहरूले आधारदरमा ०.५ प्रतिशतदेखि १ प्रतिशतसम्म थप ब्याजदरमा कर्जा उपलब्ध गराइरहेका छन् । सेवा शुल्क पनि ०.५ प्रतिशत मात्र रहेको बैंकहरूले जनाएका छन् । एक्स्पोको तेस्रो दिनसम्म अवलोकनकर्ताको संख्या बढेसँगै बैंकका स्टलमा पनि कर्जा जानकारी लिन आउने ग्राहकको भीड बढेको छ ।

ग्लोबल आइएमई बैंकका एसएमई तथा रिटेल बैंकिङ म्यानेजर मन्जिल बिष्टका अनुसार सवारीसाधन छनोट गरेपछि कर्जाका लागि नाम दर्ता गराउने र क्यूआरमार्फत आवेदन दिने ग्राहकको संख्या उल्लेख्य छ । सवारी विक्रेता कम्पनीले ल्याएका आकर्षक योजनालाई थप सहज बनाउन बैंकले पनि कर्जा प्रक्रियामा सहजीकरण गरिरहेको उनले बताए ।

त्यस्तै, सिद्धार्थ बैंकका लाजिम्पाट शाखाका प्रबन्धक विष्णुप्रसाद शर्माले मेलास्थलमा संकलन भएका ग्राहकका विवरण केन्द्रीय कार्यालयमा पठाउने र त्यसपछि ग्राहकलाई सम्बन्धित शाखासँग जोड्ने गरिएको जानकारी दिए । कतिपय ग्राहकलाई मेलास्थलबाटै सम्बन्धित शाखासँग जोडिदिने गरिएको उनले बताए ।

एनएमबी बैंकले पनि एक्स्पोमा आउने ग्राहकलाई आकर्षक ब्याजदरमा कर्जा उपलब्ध गराउन सहजीकरण गरिरहेको जनाएको छ । बैंककी रिलेसनसिप म्यानेजर समीक्षा पन्तका अनुसार नाइमा एक्स्पोलाई लक्षित गरी ब्याजदर परिमार्जन गरिएको हो । उनले ग्राहकको प्रतिक्रिया उत्साहजनक रहेको बताइन् ।

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीको प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ । एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ ।

एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि नयाँ विद्युतीय कार, ई-स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधनसम्म प्रदर्शनमा राखिएका छन् ।