काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्तिका लागि आवेदन खुला भएको छ । सीईओ छनोटका लागि सरकारले गठन गरेको सिफारिस समितिले सूचना जारी गरेर आवेदन माग गरेको हो ।
खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने नेप्सेको सीईओ पदका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिनभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
आवेदन दिन आवश्यक योग्यता तथा अनुभवमा अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा वाणिज्य वा कानुन विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल गरी पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापनसम्बन्धी कार्यमा कम्तीमा सात वर्ष व्यवस्थापकीय तहमा काम गरेको अनुभवसहित कम्तीमा १५ वर्षको कार्य अनुभव भएको नेपाली नागरिक हुनुपर्नेछ ।
नेप्सेको प्रमुख कार्यकारी अधिकृतको छनोट तथा सिफारिससम्बन्धी कार्यविधि २०८३ को दफा (२.२) र दफा (२.३) बमोजिम अयोग्य नभएको हुनुपर्ने छ ।
अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड २०७३ (संशोधनसहित) को दफा ३ को खण्ड (ग) बमोजिम ३० वर्ष उमेर पूरा भई ६५ वर्ष उमेर ननाघेका, अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड २०७३ (संशोधन सहित) को दफा ४ ले तोकेबमोजिम अयोग्य नरहेको हुनुपर्नेछ ।
आवेदनका साथ नेप्सेको प्रमुख कार्यकारी अधिकृतको छनोट तथा सिफारिससम्बन्धी कार्यविधि २०८३ को दफा ४ बमोजिमको व्यावसायिक कार्ययोजना ३ (तीन) प्रति खामबन्दी गरी पेस गर्नुपर्नेछ । खामबन्दी प्रस्तावको खामबाहिर आवेदकको नाम र ‘नेपाल स्टक एक्स्चेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन तथा व्यावसायिक कार्ययोजन’ उल्लेख गरी दस्तखत गरेको हुनुपर्नेछ । सीईओको आवेदन दिन ५ हजार दस्तुर बुझाउनुपर्नेछ ।