• Menu

नेपालको सार्वभौम क्रेडिट रेटिङ अंक बढेर ३.६६ पुग्यो, बलियो बन्दै विश्वसनीयता

नेपाल प्रफिट

२०८३ मंसिर १, मंगलबार १२:५४

नेपालको सार्वभौम क्रेडिट रेटिङ अंक बढेर ३.६६ पुग्यो, बलियो बन्दै विश्वसनीयता

काठमाडौं । नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) अंकमा सुधार आएको छ । अन्तर्राष्ट्रिय रेटिङ संस्था फिचको मूल्याङ्कनअनुसार नेपालको क्रेडिट रेटिङ अंक गत वर्षको ३.४७ बाट बढेर यस वर्ष ३.६६ पुगेको हो ।

अर्थ मन्त्रालयका अनुसार फिचको सोभरेन रेटिङ मोडल (एसआरएम) मा नेपालको अंक ०.१९ ले वृद्धि भएको छ। फिचको मूल्यांकन प्रणालीमा ‘बीबी-’ (डबल बी माइनस) रेटिङ प्राप्त गर्न न्यूनतम ३.५ अंक आवश्यक पर्ने व्यवस्था छ ।

गत वर्ष नेपालको एसआरएम अंक न्यूनतम सीमाभन्दा कम रहेकाले गुणात्मक मूल्यांकनका आधारमा एक तह थप गरी ‘बीबी-’ रेटिङ प्रदान गरिएको थियो । तर, यस वर्ष भने कुनै अतिरिक्त ग्रेस अंक वा सहुलियतबिना आफ्नै मूल्यांकन अंकका आधारमा नेपालले उक्त रेटिङ प्राप्त गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

फिच रेटिङले नेपालको सार्वभौम क्रेडिट रेटिङ लगातार तेस्रो वर्ष ‘डबल बी माइनस’ अर्थात् ‘बीबी-’ मा कायम राखेको छ ।

हालै रसुवा, बूढीगण्डकीलगायत क्षेत्रमा गएको विनाशकारी बाढीबाट उत्पन्न प्रतिकूल परिस्थितिका बाबजुद नेपालको क्रेडिट रेटिङ अंकमा वृद्धि हुनु महत्वपूर्ण उपलब्धि भएको अर्थ मन्त्रालयले जनाएको छ ।

सरकारले अघि बढाएका सुशासनसम्बन्धी कदम तथा समग्र आर्थिक सुधारका कार्यक्रमले नेपालको सार्वभौम क्रेडिट रेटिङमा सकारात्मक प्रभाव पारेको मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सार्वभौम क्रेडिट रेटिङले कुनै देशको आर्थिक अवस्था, वित्तीय स्थायित्व तथा ऋण दायित्व पूरा गर्न सक्ने क्षमताको मूल्यांकन गर्दछ । यसले अन्तर्राष्ट्रिय वित्तीय बजारमा मुलुकको विश्वसनीयता, वैदेशिक लगानीको वातावरण तथा बाह्य ऋण प्राप्त गर्ने क्षमताको आकलन गर्न महत्वपूर्ण आधार प्रदान गर्दछ ।

नेपालको क्रेडिट रेटिङ अंकमा भएको सुधारले अन्तर्राष्ट्रिय वित्तीय क्षेत्रमा मुलुकको साख मूल्यांकनलाई थप मजबुत बनाएको अर्थ मन्त्रालयको भनाइ छ ।