सुनको भाउ एकैपटक १२ हजार ६०० रुपैयाँले घट्यो
काठमाडौं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँले घटेको छ। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य परिवर्तनअनुसार नेपाल सुनचाँदी व्यवसायी महासंघले मूल्य समायोजन गरेपछि सुनको भाउ घटेको हो।
महासंघले सोमबारपछि एकैपटक शुक्रबार सुनचाँदीको नयाँ मूल्य निर्धारण गरेको हो। शुक्रबारका लागि सुनको मूल्य प्रतितोला दुई लाख ७१ हजार ७०० रुपैयाँ तोकिएको छ।
यसअघि सोमबार सुन प्रतितोला दुई लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो मूल्य समायोजनसँगै सुनको भाउमा उल्लेख्य गिरावट आएको हो।
त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १५५ रुपैयाँले घटेको छ। सोमबार प्रतितोला तीन हजार ८५५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार घटेर तीन हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।