• Menu

बाढी प्रभावित क्षेत्रमा तीव्र पारियो विद्युत पुनर्स्थापना, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत काम सम्पन्न

नेपाल प्रफिट

२०८३ भदौ २४, बुधबार ११:०४

बाढी प्रभावित क्षेत्रमा तीव्र पारियो विद्युत पुनर्स्थापना, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत काम सम्पन्न

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट अवरुद्ध विद्युत जडान गर्ने कामले तीव्रता पाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार रसुवा बाढीका कारण अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन अभियानलाई तीव्रता दिइएको हो । मन्त्रालयले गत भदौ १० मा आएको विनासकारी बाढीको भोलिपल्टैदेखि सम्भव भएसम्म सबै स्रोतसाधन र जनशक्ति परिचालन गरेर विद्युतीकरणको काम अगाडि बढाएको थियो ।

विनासकारी बाढीले विद्युत पूर्वाधारमा ठूलो क्षति पुगेका बेला मन्त्रालयले वैकल्पिक उपाय अपनाइ विद्युतीकरणलाई तीव्रता दिएको हो । यसैक्रममा मंगलबार बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका-१० र ११ मा विद्युत सेवा पुनः सञ्चालन गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म रसुवामा करिब ८३ प्रतिशत र नुवाकोटमा करिब ९५ प्रतिशत विद्युत सेवा पुनर्स्थापना भइसकेको छ । यस्तै, विद्युत सेवा पुग्न नसकेका स्थानमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रमार्फत दुई किलोवाट क्षमताका सोलार प्रणाली सामुदायिक आश्रयस्थलका लागि र घरपरिवारका लागि आवश्यकताअनुसार व्यक्तिगत सोलार प्रणाली वितरण गर्ने कार्य पनि अघि बढाइए छ ।

नेपाल विद्युत प्राधिकरणका कर्मचारी तथा प्राविधिक टोली र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका कर्मचारी बाढी प्रभावित क्षेत्रमा विद्युतीकरणका लागि सक्रिय रूपमा निरन्तर खटिरहेका जनाइएको छ ।