काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिक तथा समुदायको राहत र पुनर्स्थापनाका लागि माछापुच्छ्रे बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकका अध्यक्ष रोशन केसीले उक्त सहयोग रकम नेपाल सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
बाढीपहिरोका कारण प्रभावित नागरिकको जनजीवन, घर तथा सम्पत्तिमा ठूलो क्षति पुगेपछि बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त आर्थिक सहयोग गरेको जनाएको छ। विपत्तिपछि बैंकले प्रभावित नागरिकका लागि खाद्यान्न, ओढ्ने-ओछ्याउनेलगायत दैनिक उपभोग्य राहत सामग्री समेत उपलब्ध गराइसकेको जनाएको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको रकमले बाढीपहिरो प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन तथा पुनर्स्थापना कार्यमा सहयोग पुग्ने बैंकको विश्वास छ ।
माछापुच्छ्रे बैंकले यसअघि पनि विभिन्न प्राकृतिक विपद् तथा सामाजिक संकटका समयमा प्रभावित नागरिक तथा समुदायलाई राहत र सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ । आगामी दिनमा पनि समुदायको हित तथा विपद् प्रभावित नागरिकको सहयोगका लागि आवश्यक पहललाई निरन्तरता दिने बैंकले प्रतिबद्धता जनाएको छ ।