• Menu

चार विधेयक छलफलका लागि समितिमा पठाइयो

नेपाल प्रफिट

२०८३ भदौ ८, सोमबार १७:५३

चार विधेयक छलफलका लागि समितिमा पठाइयो

काठमाडौं  । प्रतिनिधिसभाले विभिन्न चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकले चारवटै विधेयक सर्वसम्मतिले सम्बन्धित समितिमा पठाउने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव सभाबाट सर्वसम्मतिले स्वीकृत भएको थियो ।

त्यस्तै परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई समितिमा पठाउने प्रस्ताव प्रस्तुत गरेका थिए ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ र उद्योगमन्त्री गौरीकुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

चारवटै प्रस्तावलाई प्रतिनिधिसभाले सर्वसम्मतिले स्वीकृत गरेको हो । अब सम्बन्धित समितिमा विधेयकमाथि दफावार छलफल गरी आवश्यक प्रक्रिया अघि बढाइनेछ ।

प्रतिनिधिसभाको अर्को बैठक भोलि भदौ ९ गते मंगलबार दिउँसो १ बजे बस्नेछ ।

सम्बन्धित समाचार