काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई सम्मान गर्दै ‘चेयरम्यान क्लव’ तथा ‘सिइओ क्लव एचिभर्स अवार्ड’ कार्यक्रम सम्पन्न गरेको छ।
पोखरामा भदौ ४ देखि ७ गतेसम्म चार दिन सञ्चालन भएको कार्यक्रममा ज्ञान, सम्मान, मनोरञ्जन र उत्सवका विभिन्न गतिविधि आयोजना गरिएको कम्पनीले जनाएको छ।
कार्यक्रमको उद्घाटन कम्पनीका सञ्चालक समिति अध्यक्ष सम्झना अर्यालले गरेकी थिइन्। कार्यक्रममा बोल्दै उनले अभिकर्ता पेसालाई मर्यादित र सम्मानित पेसाका रूपमा अघि बढाउँदै उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताको सम्मानले उनीहरूलाई थप हौसला मिल्ने बताइन्।
उनले आगामी दिनमा पनि अभिकर्तालाई उच्च मनोबलका साथ व्यवसाय गर्न कम्पनीका तर्फबाट आवश्यक साथ र सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरिन्।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले लगनशीलता र निरन्तरताबाट प्राप्त सफलता नै वास्तविक सफलता भएको बताए। अभिकर्ताको सफलतालाई उत्सवका रूपमा सम्मान गर्न पाउनु कम्पनीका लागि गर्वको विषय भएको उनको भनाइ थियो।
सामूहिक प्रयासबाट मात्रै सफलता सम्भव हुने उल्लेख गर्दै उनले आगामी दिनमा पनि एकताबद्ध भएर काम गरे अझ ठूलो सफलता हासिल गर्न सकिने विश्वास व्यक्त गरे।
कार्यक्रममा आचार्य राजा बाबु साहले ‘व्यवसाय वृद्धिका लागि मानसिकताको शक्ति’ विषयमा प्रशिक्षण दिएका थिए। प्रशिक्षणले अभिकर्ताको व्यावसायिक क्षमता र उत्साह बढाउन सहयोग पुगेको कम्पनीले जनाएको छ।
कार्यक्रममा कम्पनीका सञ्चालक समिति सदस्य, व्यवस्थापक तथा देशभरबाट आएका अभिकर्तासहित करिब २०० जनाको सहभागिता रहेको थियो।
आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई कम्पनीको उच्च तहको ‘चेयरम्यान क्लव’ तथा दोस्रो उच्च तहको ‘सिइओ क्लव’ अवार्डबाट विशेष सम्मान गरिएको थियो।
कार्यक्रममा नेपाली चलचित्रका अभिनेता, मोडल तथा निर्माता प्रदीप खड्काको समेत विशेष उपस्थिति रहेको थियो। उनले आफ्नो संघर्ष र सफलताको वास्तविक जीवनकथा सहभागीमाझ प्रेरणादायी ढंगले प्रस्तुत गरेका थिए।
प्रभु महालक्ष्मी लाइफले अभिकर्तालाई प्रोत्साहन, क्षमता विकास, सम्मान तथा मनोरञ्जनसँग जोडिएका विभिन्न कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको जनाएको छ।