• Menu

जेन्जी आन्दोलनमा प्रहरीबाट लुटिएको सटगनसहित झापामा २० वर्षीय युवक पक्राउ

नेपाल प्रफिट

२०८३ भदौ ७, आइतबार १७:११

जेन्जी आन्दोलनमा प्रहरीबाट लुटिएको सटगनसहित झापामा २० वर्षीय युवक पक्राउ

झापा । गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान ‘सट गन’ सहित प्रहरीले झापाको दमकबाट आइतबार एक युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका-६ घर भई हाल दमक नगरपालिका-२ रतुवा पुल नजिक अक्ष इन्टरप्राइजेज मोटरसाइकल ग्यारेजमा काम गर्दै आएका २० वर्षीय सुमन कर्ण रहेका छन् ।

प्रहरी नायब उपरीक्षक अवाका अनुसार गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा लुटिएको सट गन दमक नगरपालिका-४ त्रिवेणी चोकस्थित खैरबारीमा लुकाएर राखिएको भन्ने गोप्य सूचना प्रहरीले प्राप्त गरेको थियो । उक्त सूचनाका आधारमा प्रहरीले कर्णलाई नियन्त्रणमा लिएर उनले बताएको स्थानमा खोजतलास गरेको थियो ।

सो क्रममा प्रहरीको ‘मिक’ कम्बलमा पोका पारी लुकाएर राखिएको अवस्थामा एक थान सट गन फेला परेको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक अवाले सट गन कहाँबाट लुटिएको हो र आन्दोलनका क्रममा हतियार कसरी कर्णको हातमा पुग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।