
काठमाडौं । आगामी नाडा अटो शोमा नेपाली श्रम, सीप र पुँजीबाट उत्पादन गरिएको ब्रान्ड यात्रीले पहिलो ‘मेड इन नेपाल’ विद्युतीय स्कुटर सार्वजनिक गर्ने भएको छ। यात्रीसहित अटो शोमा सहभागी अन्य दुई पाङ्ग्रे सवारीका ब्रान्डले समेत नयाँ उत्पादन बजारमा ल्याउने तयारी गरेका छन्।
१८औँ नाडा अटो शोमा ११ कम्पनीका १३ ब्रान्डले दुई पाङ्ग्रे सवारी प्रदर्शनीमा राख्ने भएका छन्। प्रदर्शनीमा डेढ दर्जनभन्दा बढी नयाँ मोटरसाइकल तथा स्कुटर अवलोकन गर्न सकिने आयोजकले जनाएको छ।
नेपालमै उत्पादन भएको ‘यात्री पी टु’ अटो शोको प्रमुख आकर्षण बन्ने देखिएको छ। सिप्रदी यात्री प्रालिले अटो शोबाटै ‘यात्री पी टु’ स्कुटरको बिक्री सुरु गर्ने जनाएको छ। नेपालमै उत्पादन गरिएको उक्त स्कुटर ‘मेड इन नेपाल’ प्रदर्शनी कक्षमा राखिनेछ।
एमएडब्लू राइज प्रालिअन्तर्गतको यामाहा नेपालले यामाहा एक्सएसआरसहित चार नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले अटो शोका लागि आफ्नो प्रदर्शनी कक्षलाई आकर्षक बनाइरहेको जनाएको छ। नयाँ मोडलको मूल्य तथा अन्य विवरण अटो शोको पहिलो दिन सार्वजनिक गरिनेछ।
सीजी मोटर्सले हिरो ब्रान्डका तीन नयाँ मोडल प्रदर्शनीमा राख्ने भएको छ। कम्पनीले १६० सीसीको जुम स्कुटर, १२५ सीसीको ग्ल्यामर एक्स मोटरसाइकल र २५० सीसीको एक्सट्रिम मोटरसाइकल अटो शोबाटै बिक्री सुरु गर्ने जनाएको छ।
सीजी मोटर्सकै विद्युतीय ब्रान्ड भिडाले भीएक्स जेड स्कुटर र केथ्री डट मिनी मोटरसाइकल पनि प्रदर्शनीमा राख्ने भएको छ।
मिचे अटो नेपाल प्रालिले पाँच नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले पाँचवटा विद्युतीय स्कुटरसहित अटो शोमा सहभागिता जनाउने भएको हो। मिचे अटोले नेपालमै विद्युतीय दुई पाङ्ग्रे सवारीको जडान गर्दै आएको छ।
रोयल इनफिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले समेत नयाँ मोडल सार्वजनिक गर्ने भएको छ। कम्पनीले केही दिनअघि बजारमा ल्याएको नयाँ क्लासिक मोडललाई अटो शोमा प्रदर्शनीमा राख्ने जनाएको छ।
यस वर्षको नाडा अटो शोमा क्यूजे मोटर्स, जोनसेन, भेस्पा, अप्रिलिया, रोयल इनफिल्ड, एम्पियर, रिभोल्ट र मेटा ईभीलगायत दुई पाङ्ग्रे सवारीका ब्रान्डले समेत सहभागिता जनाउँदैछन्।
नाडा अटो शोमा ठूलो संख्यामा नयाँ मोटरसाइकल तथा स्कुटर सार्वजनिक हुनुले नेपाली दुई पाङ्ग्रे सवारी बजारमा नयाँ उत्पादन, विद्युतीय सवारी र स्थानीय उत्पादन तथा जडानप्रति बढ्दो चासो देखाउने अपेक्षा गरिएको छ।
एउटै स्थानमा विभिन्न ब्रान्डका नयाँ मोटरसाइकल तथा स्कुटर सार्वजनिक हुने भएकाले उपभोक्ताले विभिन्न विकल्पको प्रत्यक्ष अवलोकन गरी आफूलाई उपयुक्त सवारी छनोट गर्न सक्नेछन्। अटो शो नयाँ उत्पादन सार्वजनिक गर्ने मात्र नभई नेपाली सवारी बजारमा बदलिँदो प्रविधि र उपभोक्ताको रुचि बुझ्ने महत्वपूर्ण मञ्चका रूपमा समेत स्थापित हुँदै गएको छ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal