
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत दृष्टिविहीन बालबालिकाका लागि निर्माणाधीन आवासीय भवन सम्पन्न गर्न आर्थिक सहयोग प्रदान गरेको छ।
कम्पनीले काठमाडौं राउण्ड टेबल- १ मार्फत त्रिनेत्र फाउन्डेसनद्वारा निर्माण भइरहेको आवासीय भवनलाई सहयोग गरेको जनाएको छ । निर्माण सम्पन्न भएपछि उक्त भवनमा ६० जनासम्म दृष्टिविहीन बालबालिकाले सुरक्षित, सहज र स्नेहपूर्ण वातावरणमा बसोबास गर्न सक्नेछन् ।
भवनमा छात्रावास, कक्षाकोठा, सरसफाइका आवश्यक सुविधा, ब्रेल पुस्तकालय, संगीत कक्ष तथा अन्य आवश्यक आवासीय सुविधा समावेश गरिएका छन् । यसअघि त्रिनेत्र फाउन्डेसनले सीमित स्रोत-साधनका बीच भाडाको सानो घरबाट सेवा सञ्चालन गर्दै आएको थियो । नयाँ भवन सञ्चालनमा आएपछि दृष्टिविहीन बालबालिकालाई गुणस्तरीय आवास, शिक्षा तथा जीवनोपयोगी सीप उपलब्ध गराउने संस्थाको क्षमता विस्तार हुने अपेक्षा गरिएको छ ।
यस अवसरमा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले व्यावसायिक सफलतासँगै समाजमा सकारात्मक प्रभाव सिर्जना गर्नु पनि कम्पनीको प्राथमिकता रहेको बताए ।
उनले त्रिनेत्र फाउन्डेसनमार्फत दृष्टिविहीन बालबालिकालाई सुरक्षित आवास, गुणस्तरीय शिक्षा र आत्मनिर्भर जीवनतर्फ अग्रसर गराउने अभियानमा सहकार्य गर्न पाउँदा कम्पनी गौरवान्वित भएको उल्लेख गरे ।
नेपाल लाइफ इन्स्योरेन्सले जिम्मेवार व्यावसायिक अभ्यास र संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत जीवन बीमा सेवासँगै नेपालको सामाजिक तथा आर्थिक विकासमा निरन्तर योगदान दिँदै आएको जनाएको छ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal